काठमाडौं । दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी माघको लागि सरेको छ ।
नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनमा तय प्रतियोगितामा पुस ९ र १० गतेका लागि तय थियो । यद्यपि, प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए ।
अब नयाँ मितिमा आगामी माघ ९ र १० गते प्रतियोगिता हुनेछन् । डोजोको स्थापना कालदेखि नै सहयोगका साथै विभिन्न माध्यमबाट स्थानीय क्षेत्रमा योगदान पु¥याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा प्रतियोगिताको दोस्रो संस्करण हुँदै छ । भीम चन्द ठकुरीकै सक्रियतामा डोजोको स्थापनासमेत भएको थियो । उनी सहिद दशरथ चन्दका भतिजसमेत हुन् ।
उक्त प्रतियोगिता नयाँबानेश्वरस्थित भीमसेनगोला माध्यमिक विद्यालयमा हुनेछ । प्रतियोगितामा फाइट र काता गरी कुल २५ स्वर्ण पदकका लागि खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । काताअन्तर्गत टिम र व्यक्तिगततर्फ (महिला र पुरुष) प्रतिस्पर्धा हुनेछन् ।
पुरुष फाइटमा २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमाथि तौलसमूहसम्म प्रतिस्पर्धा हुनेछन् ।
महिलातर्फ २० केजी, २५ केजीमुनि, ३० केजी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६१ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै टिम च्याम्पियनको ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो र तेस्रोले पनि नगद पुरस्कार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ । सोही प्रतियोगिताको उद्घाटनका अवसरमा श्रष्टा सम्मान पनि गरिने डोजोका अध्यक्ष जोशीले बताए ।
डोजोको स्थापनाकालदेखि सहयोग पु¥याएका र विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्थानीय व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।