काठमाडौं । नेपाली महिला गल्फर प्रतिमा शेर्पाले अमेरिकाको चर्चित गल्फ प्रतियोगिता सिमेट्रा टुरमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
नेपालकी नम्बर एक महिला गल्फर समेत रहेकी प्रतिमाले पहिलो प्रोफेसनल गल्फ प्रतियोगिताको रुपमा सिमेट्रा टुरमा प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
सिमेट्रा टुर मार्चको अन्तिम साताबाट क्यालिफोर्नियामा सुरु हुनेछ । हाल अमेरिकामै रहेकी प्रतिमाले इएसपीएनसंग कुरा गर्दै सिमेट्रा टुरमा प्रतिस्पर्धा गर्न पाउनु ठुलो अवसर भएको बताएकी छिन् ।
गल्फ खेल्न सुरु गरेदेखि नै नेपालको पहिलो प्रोफेसनल महिला गल्फर बन्ने चाहना राख्दै आएकी प्रतिमाले यही मार्चको अन्तिममा सिमेट्रा टुरमा सहभागिता जनाउन लागेकी हुन्।
'नेपालको गरिब परिवारमा जन्मिएर म राष्ट्रिय गल्फ खेलाडी हुन्छु भनेर सोचेको थिइँन,' १९ वर्षीय प्रतिमाले भनेकी छिन्, ' म गल्फकै कारण अहिले अमेरिकामा छु । सिमेन्ट्रा टुर खेल्नका लागि बोलाइएको म पहिलो नेपाली हुँ । मलाई गर्व लागेको छ । यो मेरो लागि ठूलो अवसर र राष्ट्रको लागि पनि उपलब्धि हो ।'
सिमेट्रा टुर मार्चको २९ देखि ३१ सम्म हुनेछ ।