एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा अहिले उपाधि दाबेदार क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
डर्टमण्डको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ सकिदा बायर्नले १-० को अग्रता बनाएको छ ।
खेलको ४३ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका हुन् ।
बल पोजिसनमा पकड बनाएको बायर्नको केहि उत्कृष्ट आक्रमण भने डर्टमण्डका डिफेन्डर र गोलकिपरले विफल बनाईदिएका थिए ।
बहुचर्चित यस खेलले उपाधि भिडन्तमा निर्णायक भूमिका खेल्ने अनुमान लगाईएको छ ।
कोरोना भाईरसको महामारीको बीच सुचारु लिगमा दुई टोलीबीचको अंक दुरी मात्र ४ अंकको रहेको छ ।
लिग लिडर बायर्नको २७ खेलबाट ६१ अंक रहेको छ । डर्टमण्डको ५७ अंक रहेको छ ।
लिग सुचारुपछि दुवै टोलीले जितलाई निरन्तरता दिईरहेका छन् । दुवै टोलीले लगातार दुई जित दर्ता गरिसकेका छन् ।
डर्टमण्डको मैदानमा बायर्न जित निकाल्दै अग्रता थप फराकिलो बनाउन चाहन्छ ।
यता, उपाधिमा आफ्नो दाबी कायम राख्न डर्टमण्डलाई घरेलु मैदानमा जित अनिवार्य रहेको छ । घरेलु मैदानको जितले डर्टमण्डले लिग लिडरसँगको अंक दुरी १ मा झार्ने छ ।