काठमाडौं । भारतको हिरो महिला लिग फुटबलमा नेपाली फरवार्ड सावित्रा भण्डारी सम्मिलित सेथु फुटबल क्लब समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा बरोडा फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै सेथु समूह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।
समूह चरणका पाँचै खेलमा सेथुले स्पष्ट जित निकाल्न सफल रह्यो ।
अघिल्ला चार खेलमा निरन्तर गोल गरेकी नेपाली फरवार्ड सावित्रा पाँचौ खेलमा भने गोल गर्न सकिनन् ।
एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको सेथुले लिग चरणको अन्तिम खेलमा तालिकाको पुछारमा रहेको टोली बरोडालाई प्रतिद्वन्दीको रुपमा पाएको थियो ।
सेथुको जितमा भारतीय अन्तराष्ट्रिय फरवार्ड सन्ध्याले चार गोल गरिन् । त्यस्तै, आशालता देवी, ईन्दुमती र रतनावाला देवीले समान एक एक गोल गरे । पहिलो हाफमै ४–० को अग्रता लिएको सेथुले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
खेलको १४ औ मिनेटमा सेथुले खेलमा अग्रता लिएको छ । सन्ध्याले गोल गर्दै सेथुलाई सुरुवाती अग्रता दिलाएकी छिन् । ३६ औ मिनेटमा सन्ध्याले सेथुको अग्रता दोब्बर पारिन् । त्यसको दुई मिनेटपछि गोल गर्दै सन्ध्याले पहिलाे हाफ भित्रै ह्याट्रिक पुरा गरिन् ।
४२ औ मिनेटमा आशालता देवीले गोल गर्दै पहिलो हाफमा ४–० ले अगाडी बढाईन् ।
७४ औ मिनेटमा ईन्दुमतीले सेथुका लागि पाँचौ गोल गरिन् । ८३ औ मिनेटमा रतनावाला देवीले सेथुको अग्रता ६–० मा पुर्याएकी थिईन् । खेल सकिन चार मिनेट अगाडी सन्ध्याले व्यक्तिगत चौथो गोल गर्दै टोलीलाई ७–० को जित दिलाईन् ।
समूह बीकाे शीर्ष स्थानमा रहेकाे सेथुले ५ खेलबाट १५ अंक जोड्यो । बराेडा जित विहिन हुदै प्रतियाेगिताबाट बाहिरियाे ।