काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको ह्याट्रिकको सहयोगमा सेथु फुटबल क्लबले भारतीय महिला लिगमा लगातार चौथो जित निकालेको छ ।
गुरुनानक मैदानमा आईतबार भएको खेलमा सेथुले कोल्हारपुर सिटीलाई ९–० को फराकिलो गोल अन्तरले हराएको हो ।
सेथुको जितमा सावित्रा सहित रतनवाला देवीले ह्याट्रिक पुरा गरिन् ।
खेलमा अग्रता सेथुले तेस्रो मिनेटमा ग्रेसीको गोलबाट लिएको थियो । १९ औ मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै ग्रेसीले सेथुको अग्रता दोब्बर पारिन् । सावित्रालाई विपक्षी कोल्हारपुरका डिफेन्डरले डि बक्सभित्र लडाएपछि सेथुले पेनाल्टीको अवसर पाएको थियो ।
२३ औ मिनेटमा रतनवालाले सेथुका लागि तेस्रो गोल गरिन् । उनै रतनवालाले २८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सेथुलाई ४–० को स्थितीमा पु¥याएकी थिईन् । पहिलो हाफको ईन्जुरी समयमा जबमानी टुडुले आत्मघाति गोल गरेपछि सेथु पहिलो हाफमा ५–० ले अघि बढेको थियो ।
दोस्रो हाफ सावित्राको नाममा रह्यो । ५६ औ मिनेटमा पहिलो गोल गरेकी उनले ६६ औ मिनेटमा दोस्रो र ७६ औ मिनेटमा ह्याट्रिक पुरा गरिन् । खेल सकिन ९ मिनेट अगाडी रतनवालाले समेत ह्याट्रिक पुरा गर्दै सेथुलाई ९–० को प्रभावशाली जित दिलाईन् ।
लगातार चार खेलमा जित निकाल्दै सेथुले लिगमा १२ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको सेथुको अघिल्लो चरण प्रवेशको बलियो सम्भावना बनाएको छ ।