काठमाडौं । भारतीय महिला लिगको डेब्यु खेलमै नेपाली राष्ट्रिय टिमकी स्ट्राईकर सावित्रा भण्डारीले गोल बर्षा गरेकी छिन् । पहिलो हाफभित्रै लगातार चार गोल गर्दै उनले ह्याट्रिक समेत पुरा गरेकी छिन् ।
खेल सुरु भएको २८ सेकेन्डमा पहिलो गोल गरेकी उनले १६ औ मिनेटमा दोस्रो गोल गरिन् । उनले ३४ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिईन् ।
ईन्जुरी समयमा थप एक गोल गर्दै उनले पहिलो हाफमै गोल संख्या ४ पुर्याइन् ।
पहिलो हाफको खेल सकिदाँ सावित्राको क्लब सेथु ४–२ गोल अन्तरले अगाडी छ ।
सावित्रा सम्मिलित सेथु फुटबल क्लबले लिगको पहिलो खेलमा मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्व प्रतिस्पर्धा गरेको छ ।
सेथुका लागि पहिलो खेलमै सावित्रा चम्किएकी छिन् ।
यस्तै क्लबले सावित्रालाई आफ्नो ट्रेडमार्क ९ नम्बरको जर्सी दिएको छ । सावित्राले राष्ट्रिय टिम र घरेलु लिगमा ९ नम्बरको जर्सी लगाउने गरेकी थिईन् ।
नेपालकी अर्की खेलाडी अनिता बस्नेत भने बैकल्पिक खेलाडीका रुपमा रहेकी छिन् ।