काठमाडौं । इन्डोनेसियाको जाभा प्रान्तमा फुटबल खेलपछि भएको हिंसामा दोषी देखिएका ६ जनाविरुद्ध अपराधिक अभियोगको मुद्दा दर्ता गरिएको छ ।
इन्डोनेसियाका प्रहरी प्रमुखले आयोजक र प्रहरी अधिकारी सहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
६ जनाकै लापरबाहीको कारण घटना घटेको भन्दै मुद्दा दर्ता गरिएको हो । उनीहरुलाई कम्तिमा ५ वर्षको जेल सजाय हुनेछ ।
उक्त हिंसामा कम्तिमा १ सय ३१ जनाको मृत्यु भएको थियो । यस्तै १ सय ८० जना भन्दा बढी घाइते भएको बताईएको छ ।
इन्डोनेसियाको शीर्ष डिभिजनको लिग वान फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि उक्त हिंसा भएको थियो । खेलमा अरेमा ३-२ ले पराजित भएपछि समर्थकहरु एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए ।
त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै हिंसा नियन्त्रण गर्ने क्रममा भागदौड भएको थियो ।
घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।