काठमाडौं । बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने एक मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा नपरेपछि फरवार्ड नवयुग श्रेष्ठले चलखेल भएको आशयको टिप्पणी गरेका छन् ।
नवयुगले बिहीबार राति सामाजिक संजाल फेसबुकबाट चलखेल भएको आशयको टिप्पणी गरेका हुन् ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार घोषणा गरेको टोलीमा उनी अटाएका थिएनन् ।
' रोग को लक्षण :- विदेशी हुदा भित्र, स्वदेशी हुदा बाहिर, रोगको नाम :-चहलखेल' उनले फेसबुकमा लेखेका छन् ।
तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी हुँदा एसियन कप छनोटको दोस्रो चरणमा नवयुगले कप्तानी गरेका थिए ।
उनी टोलीमा किन अटेनन भन्ने प्रश्नमा हुमागाईले उनी योग्य र अनुभवी खेलाडी भएपनि केहि कुराको अभावका कारण टिममा छनोट हुन नसकेको उत्तर दिएका थिए ।
'हाम्रो लागि सबै खेलाडी महत्वपूर्ण छन् । र, सबैजना राम्रो छन् । अहिलेसम्म यो स्तरमा खेलिसकेका छन् । नवयुग योग्य खेलाडी हुन् यसमा कुनै शंका छैन तरपनि हामीले केहि कुराको तलमाथि पायौं तसर्थ नवयुग टोलीमा छैनन्,' उनले भनेका थिए ।