काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) पत्रकार सम्मेलनबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । उनले ४ गोलकिपर टोलीमा राखेका छन् ।
सुनिल बल र नवयुग श्रेष्ठ टिमबाट बाहिरिएका छन् ।
प्रशिक्षक हुमागाईले सुनिल चोटका कारण र नवयुगमा केहि कमीकमजोरी रहेको कारण टोलीमा नपरेको बताए ।
उनले यू-२० टोलीका कप्तान आयुष घलानलाई समेत टोलीमा राखेका छैनन् ।
ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली टोली -
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी