काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईले पाएको अवसरलाई सहजै स्वीकार गरेर आफु नेपाली टिम हेर्न नेपाल आएको बताएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हुमागाईले अवसरलाई स्वीकार गरेको र राम्रो नतिजाका लागि आफु तयार रहेको बताएका हुन् ।
'मैले पाएको एक अवसर हो यो । यसलाई आफुले दबाबका रुपमा नभई आफुले सहज रुपमा लिएको र राम्रो नतिजाका साथ यसलाई पार गर्ने हो,' उनले पत्रकार सम्मेलनमा भने ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ । जसका लागि हुमागाईलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
एन्फाले आफुलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफुले त्यसलाई सदुपयोग गर्ने उनले बताए ।
'आफ्नो करियरको सफलता भन्दा पनि राष्ट्रिय टिमका लागि राम्रो गर्छु । म मा क्षमता देखेर नै एन्फाले यो जिम्मा दिएको होला,' उनले भने, 'आफ्ना पुराना सफलताले केही अर्थ राख्ने छै यो नयाँ जिम्मेबारी हो ।'
हुमागाईले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको बताए ।
'नेपालको फुटबल आफ्नो पहिलो प्राथमिकतामा रहिरहन्छ,' अमेरिका बस्दै आएका उनले भने ।
हुमागाईले आफु नेपाली फुटबलको अहिलेको समस्याको बारेमा बोल्न नचाहेको तर जानकारी पर्याप्त रुपमा राखेको बताए ।
उनले ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफुले कुरा गरेको समेत बताए ।
कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा डाकेका छन् ।
कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट, अनन्त तामाङ, लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् ।
यस्तै एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईलाई नियुक्त गरिएको बताए ।
'मुख्य प्रशिक्षक स्वास्थ्य अवस्थाको कारण उपलब्ध हुन नसकेकोले हुमागाईको नियुक्ति भएको हो । कोचका बारेमा महासचिबलाई जिम्मेवारी दिएकोले अहिले नबोलौ,' प्रवक्ता शाहले भने ।