काठमाडौं । लिभरपुलले मार्चयता कुनै खेल गुमाएको छैन् । पूरा सिजन उसले बेहोरेको हार भनेको खालि तीन खेलमा हो । यसबीच लिभरपुलले घरेलु दुई कप उपाधि पनि जितिसकेको छ । यही लिभरपुलले आज शनिबार युरोपेली च्याम्पियन्सको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ । तय छ, लिभरपुल रियललाई हराउन दबाबमा रहनेछ, किनभने उसले यो फाइनल गुमाउँछ भने लाग्नेछ, यो सिजन उसले केही पनि गर्न सकेन्, भलै क्लब चार ठूला उपाधिको निकै नजिक रह्यो ।
सिजनको अन्त्यतिर अद्धितीय रूपमा चार ठूला उपाधिको सम्भावनाबाट गुज्रेको लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि गुमाउनुको पीडा पक्कै पनि रहेको हुनु पर्छ । लिभरपुलले लिगको अन्तिम दिन खालि एकै अंकमा प्रिमियर लिगको उपाधि गुमाएको थियो, म्यानचेस्टर सिटीविरुद्ध । रियलको स्थिति पनि खासै धेरै फरक छैन् । सिजनको सुरुमा रियलसँग धेरैको केही पनि अपेक्षा थिएन् । तर विस्तारै उसले सिजनमा आफ्नो स्थिति अनुकुल बनाउँदै गयो ।
यसक्रममा उसले स्पेनी ला लिगा मात्र जितेन्, च्याम्पियन्स लिगमा ‘कमब्याक किंग’ का रूपमा आफ्नो मस्त छबि पनि बनायो । फाइनल पुग्ने क्रममा रियलले एकपछि अर्को पुर्नआगचन रचेको थियो र तीन सबै आफैमा उत्कृष्ट कथा जस्तै थिए । खेल सुरु हुन ठ्याक्कै अगाडि सट्टेबाजका लागि अझै पनि लिभरपुल विजेताका रूपमा पहिलो रोजाई रहेको छ । यस्तो किन भन्दा रियलको तुलनामा लिभरपुलले यो सिजन निकै कम मात्र खेल गुमाएको छ ।
तर पनि स्टाडे डे फ्रान्सको मैदानमा हुने खेलमा लिभरपुल नै उपाधि जित्नका लागि बढी दबाबमा रहनेछ । रियलका लागि धेरै अर्थमा यो सिजन स्वपनिल सावित भएको छ, किनभने सिजनको सुरुमा केही पनि अपेक्षा थिएन् । तर अहिले स्थिति के बनेको छ भने उसले एकै सिजन लिग र च्याम्पियन्स लिग दुवै जितेको कीर्तिमान राख्न सक्छ र यसका लागि रियलले करिम बेन्जेमालाई धन्यवाद नदिएर सुखै छैन् । च्याम्पियन्स लिगका ११ खेलमा उनले १५ गोल गरिसकेका छन्।
त्यसमध्ये पनि १० गोल नकआउट चरणमा रहेको छ । उनकै खेलले रियल पछिल्ला नौ वर्षमा पाँचौं पल्ट युरोपका सबैभन्दा ठूलो प्रतियोगिता जित्ने संघारमा पुगेको हो । फ्रान्सेली स्ट्राइकरले यस सिजन ४४ गोल गरिसकेका छन् र त्यससँगै १५ गोलमा उनको सहयोगी भूमिका पनि रहेको छ । यस्तोमा बेन्जेमा यस वर्षका लागि बेलन डे अरका लागि पनि उत्तिकै बलियो प्रत्यासी बनेको छ । त्यस अर्थमा ३४ वर्षीय खेलाडीका लागि यो सिजन उत्कृष्ट रह्यो भन्दा फरक पर्दैन् ।
चार वर्ष अगाडि क्रिस्टियानो रोनाल्डोलाई गुमाएको रियलका लागि बेन्जेमाले उनको अनुपस्थिति बिर्साइदिएका छन् । च्याम्पियन्स लिग फाइनलमा बेन्जमाले अहिलेसम्म एकै गोल मात्र गरेका छन्, तर संयोग कस्तो भने यो लिभरपुलविरुद्ध नै रहेको छ, सन् २०१८ मा । त्यस खेलमा लिभरपुलको प्रदर्शन वास्तवमै बिर्सनलायक थियो र खेल ३–१ ले गुमाएको थियो । त्यसमा जर्मन गोलरक्षक लोरिस करिसियसको प्रदर्शन वास्तवमै तल्लो स्तरको थियो ।
बेन्जेमाकै प्रदर्शनका कारण रियलले पेरिस सेन्ट जर्मेन (पीएसजी), चेल्सी र सिटीविरुद्ध गज्जबको पुर्नआगमन जित रचेको थियो । रियलका यी जितलाई अविश्वसनीय मान्न सकिने आधार पनि छन् । रियलले कीर्तिमान ३५ औं पल्ट ला लिगा जित्ने निश्चित भएपछि प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो प्रमुख खेलाडीलाई आराम दिएर खेलाउने अवसर पनि पाएका छन् । त्यसैले रियलसामु खेलाडीको चोटको कुनै समस्या देखिएको छैन् ।
लिभरपुलका मोहमद सलाह, भर्जिल भान डाइक, फाबिन्हो र थिएगो सबै पछिल्ला केही खेलमा चोटग्रस्त भएका छन् । फाइनलमा तिनको उपस्थिति कस्तो रहने हो, त्यो हेर्न लायक हुनेछ । सन् २०१८ को फाइनलमा सुरुमै सलाह घाइते भएर मैदान छाड् बाध्य भएका थिए र यसलाई उनी आफ्नो खेल जीवनकै सबैभन्दा खराव क्षण मान्छन् । अनि के पनि मान्छन् भने यसपल्ट रियलसामु त्यसकै बदला लिने राम्रो अवसर हो, यसलाई गुमाउनु हुन्न् ।
–रोयटर्सको सहयोगमा ।