काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले रोमान्चक जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि १-० गोलको रोमान्चक जित निकालेको हो।
थ्री स्टारलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयको सातौं मिनेटमा गोल गरे।
संकटाका गोलकिपर राजा बाबुले पन्च गरेको बल नियन्त्रणमा लिदै राफायल रिमले उपलब्ध गराएको पासमा विजयले सहजै गोल गरे ।
त्यसअघि प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसर खेर फालेका थिए।
खेलको दोस्रो मिनेटमा थ्री स्टारका संजोक राईको प्रहार पोस्टको नजिकबाट बाहिरिएको थियो ।
चौंथो मिनेटमा थ्री स्टारका निशान खड्काको फ्री-किक संकटाका गोलकिपर राजाबाबु थापाले सहजै आफ्नो पन्जामा पारे ।
सातौं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै रोके ।
लगत्तै संकटाका अमित तामाङको क्रसमा लक्षण रुचालको प्रहार आकाशिएको थियो ।
खेलको ३४ औं मिनेटमा संकटाका ग्लोरीले सिक्स यार्ड बक्स भित्रको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले उत्कृष्ट बचाऊ गरे ।
खेलको इन्जुरी समयमा थ्री स्टारका निशान खड्काको क्रसमा संजोक राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन।
खेलको इन्जुरी समयमा थ्री स्टारका लाकेन लिम्बुको हेडर संकटाका गोलकिपर राजाबाबुले बचाए ।
यस जितसँगै थ्री स्टारले ९ खेलमा १६ अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ ।
संकटाले ९ खेलमा १४ अंक जोडेको छ । संकटा पाँचौं स्थानमा झरेको छ ।
जितपछि थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले चाहिएको ३ अंक पाएको बताए ।
'तीन अंक चाहिएको थियो । अन्तिममा निस्कियो । धेरै खुशी छु,'दुई डिफेन्डर नहुँदा गाह्रो भयो । लाकेनले मौका पायो । उसले राम्रो खेल्यो । उसले नै गरेर गोल भयो, जित्नै पर्ने थियो, अन्तिम समयमा आक्रामक खेलेका थियौं,' उनले भने ।
संकटाका मुख्य प्रशिक्षक विष्णु गुरुङले थ्री स्टारले उत्कृष्ट खेलेको प्रतिक्रिया दिए ।
'थ्री स्टारले राम्रो खेल्यो । दोस्रो हाफमा थ्री स्टार एग्रेसिभ देखियो । मेरा खेलाडीले जुन प्रदर्शन गरे, अपेक्षा गरेको थिएन । ड्र होला जस्तो लागेको थियो । दबाब भयो ९० पछि । उनीहरूले धेरै खेलाडी फरवार्ड लाइनमा पठाएको थियो । हामीले काउन्टरमा प्रयास गरेका थियौं,' गुरुङले भने ।