काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे ।
फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।
खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोल भएको थियो ।
खेलको २२ औं मिनेटमा दिनेश हेन्जनको फ्री-किक क्रस बारमा लागेर फर्किदा आर्मी अग्रता दोब्बर बनाउन चुकेको थियो ।
आर्मीका जर्ज प्रिन्स कार्कीले २५ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले सहजै बचाए ।
२६ औं मिनेटमा फ्रेन्ड्सले गोलको अवसर पाएको थियो । तर,कप्तान प्रिजेन तामाङले दुई डिफेन्डरलाई बिट गरेपनि पोस्ट प्रहारमा चुके ।
खेलको ३० औं मिनेटमा फ्रेन्ड्सका जमोल एन्थोनीको सशक्त प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ३४ औं मिनेटमा फ्रेन्ड्सले गोलको सुनौलो अवसर गुमायो । श्याम बाबु केप्छाकीको क्रसमा पेनाल्टी बक्स भित्रबाट रोनिल एन्थोनी पाउलको हेडर आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाऊ गरे । त्यहिँ रिबाउन्ड बलमा जमल एन्थोनीको प्रहार पनि विकेशले बचाऊ गरे ।
खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-० गोलको अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे ।
दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो । आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
आर्मीका डिफेन्डर युद्द शाहीको ब्याक पासमा फ्रेन्ड्सका कप्तान प्रिजेनले उपलब्ध गराएको बलमा एन्थोनीले सहजै गोल गरे ।
५९ औं मिनेटमा आर्मीका दिनेशको कडा प्रहार फ्रेममा पर्न सकेन ।
खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए ।
जगजितको कर्नरमा अनमार्क रहेका सुमनले हेड मार्फत गोल गरे ।
खेलको ७८ औं मिनेटमा फ्रेन्ड्सका सुरज बिकको हेडर आर्मीका गोलकिपर विकेशले उत्कृष्ट बचाउ गरे ।
त्यसपछि थप गोल भएन र आर्मीले सहज जित निकाल्यो ।
यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।
फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ ।
यस हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।
आर्मीका जगजित म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर आर्मीकै सेसेहाङ आङ्देम्बे चुनिए ।