काठमाडौं । दुई खेलबाट अधिक्तम ६ अंक, यस्तोमा सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो चरण समाप्तिमा कीर्तिमान आठ पटकको विजेता मनाङ मर्स्याङ्दी सबैभन्दा मजबुत देखिएको छ ।
दोस्रो चरणमा सबैभन्दा उल्लेखनीय जित मनाङकै रह्यो र यो नै दोस्रो चरणको समाप्तिमा शतप्रतिशत नतिजा निकाल्ने एक मात्र टिम रह्यो ।
मनाङले हिमालयन शेर्पालाई १–० ले हराएको हो । दोस्रो चरणको अर्को ठूलो जित संकटाको नाममा रह्यो । संकटाले फ्रेन्ड्सलाई २–१ ले हराएको थियो ।
संकटा र बीबीसी शीर्ष तीन स्थानभित्र छन् । दुवैको समाचार चार अंक छ । त्यसपछि चारै अंकमा रहेका डिफेन्डिङ च्याम्पियन मछिन्द्र, पुलिस र सातदोबाटो छन् ।
सातदोबाटोले डेब्यु जित निकाल्ने क्रममा थ्री स्टारलाई १–० ले हराएको थियो । दोस्रो चरण टुंगिदासम्म सात टिम अपराजित छन् ।
दोस्रो चरणमा सबैभन्दा खराव हार तीन पल्टको च्याम्पियन थ्री स्टारकै रह्यो । थ्री स्टार र च्यासल समान तीन तीन अंकमा छन्, अनि क्रमश: सातौं र आठौं स्थानमा छन् ।
आर्मी पनि अहिलेसम्म अपराजित छ, उसले दुवै खेल बराबरी खेलेर दुई अंकमै सीमित छ ।
फ्रेन्ड्स, हिमालयन शेर्पा र एनआरटी एक अंकमा छन् । एपीएफ र जावलाखेल भने रेलिगेसन क्षेत्रमा छ । दोस्रो चरणका सात खेलमा एक गोलको औसतले सात गोल भएका छन् । दोस्रो चरणमा २१ पहेँलो कार्ड देखाइएका छन् ।
यससँगै दुई चरणमा गरेर कुल ४३ पहेँलो कार्ड देखिएका छन् ।
पहिलो चरणमा एक रातो कार्ड पनि देखाइएको थियो र यो नै एक मात्र रातो कार्ड रहेको छ । दोस्रो चरणको एक पहेँलो कार्ड हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईको नाममा रह्यो ।
पहिलो चरणमा मछिन्द्रका पदाधिकारी नवीन श्रेष्ठलाई पनि पहेँलो कार्ड देखाइएको थियो ।
पहिलो चरणको रातो कार्ड भने एकै खेलको दुई पहेँलो कार्डको कारणले भएको थियो ।
अहिलेसम्म सिधा रातो कार्ड दिइएको छैन् । दोस्रो चरणको समाप्ती हुँदासम्म तीन खेलाडीले दुई दुई पहेँलो कार्ड पाएका छन् र यी खेलाडीले अब तेस्रो चरण गुमाउने छन् ।
यी खेलाडीमा एनआरटीका पुलिसका हेमन्त श्रेष्ठ, एनआरटीका आन्द्रे थिएरी र मछिन्द्रका आन्द्रेस निआ रहेका छन् ।