काठमाडौं । नेपाली फुटबलको सबैभन्दा ठूलो समस्या हो, गोल कम हुनु । अथवा गोल नै नहुनु । राष्ट्रिय टिममै पनि गोलको समस्या चर्को छ ।
यो कत्तिको समस्या हो, त्यसको ठ्याक्कै मैदानी वास्तविकता सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो चरणमा देखियो । दोस्रो चरणका सात खेलमा जम्मा जम्मी सातै गोल मात्र भए ।
त्यो भनेको औसत एकै गोल मात्र, जुन निकै कम हो । तथ्यांकले भन्छ, गोल खडेरी समस्याकै रूपमा देखिएको छ ।
दोस्रो चरणका सात खेलमध्ये दुईमा गोल नै हुन सकेन् । यसै कारण एनआरटी र बीबीसी तथा मछिन्द्र र आर्मीबीचका खेल फिक्का फिक्का रहे । चार खेलको नतिजा १–० मै सकियो ।
यसमा सातदोबाटोले थ्री स्टार, च्यासलले एपीएफ, मनाङ मर्स्याङ्दीले हिमालयन तथा पुलिसले जावलाखेललाई खालि एक गोलले नै हराएको थियो ।
यस्तो दोस्रो चरणका सबैभन्दा आकर्षक र रोमाञ्चक खेल रह्यो, संकटाविरुद्ध फ्रेन्डसको । यसमा संकटाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर २–१ को जित निकालेको थियो ।
यो नै दोस्रो चरणको एक मात्र खेल रह्यो, जसमा एक भन्दा बढी गोल भए । अनि माथिल्लो डिभिजन खेलिरहेका १४ टिममध्ये आठ टिमले दोस्रो चरणमा गोल नै गर्न सकेनन् ।
अझ जावलाखेल त झन त्यस्तो एक्लो टिम रहेको छ, जसले दुर्भाग्यपूर्ण रूपले दुई खेलपछि पनि कुनै गोल गर्न सकेको छैन् ।