काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति एफसी सेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।
माल्डोभामा भएको खेलमा रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले एक एक गोल गरे ।
खेलको ३० औं मिनेटमा अलाबाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए
पहिलो हाफको इन्जुरी समयमा क्रुसले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ५५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए ।
जितसँगै रियल मड्रिड लगातार २५ वर्ष च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भयो ।
यस जितसँगै समूह 'डी' को रियलले ५ खेलमा १२ अंक जोडेको छ ।
रियल शीर्ष स्थानमा रहेको छ ।
सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा इन्टर मिलनले शाख्तर डोनेकट्सलाई २-० ले हराएको छ ।
इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
इन्टर समेत नकआउट चरणमा पुगेको छ ।