काठमाडौं । राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका छन् ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् ।
रोहितले पूर्व कप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् ।
२९ वर्षीय रोहितको यो नेपालको लागि ७४ क्याप हो । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् ।
नेपालको लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा रहेको छ ।
किरणले ७९ खेल खेलिसकेका छन् ।
रोहितले २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । मार्च २३ मा प्यालेस्टाइनविरुद्ध खेल्दै रोहितले डेब्यु गरेका थिए ।
राष्ट्रिय टिममा डेब्यु गर्नु अघि उनले नेपालको लागि उमेर समूहको टिमबाट खेलेका थिए ।
इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित नेपाली टिमको उपकप्तान समेत हुन् ।