काठमाडौं । सी डिभिजन छनोटमा सहभागी टिमले खेल मिलेमतो (फिक्सिङ)को प्रस्ताव आफुलाई गरेको दाबी गर्दै आवश्यक छानविनको माग गरिएको छ ।
धादिङबाट सी छनोट खेल्न काठमाडौं आएको शुभारम्भ युवा समाजले अर्को सहभागी टिम लगनशिल युवा क्लबबाट खेल मिलेमतोको प्रस्ताव आएको दाबी गर्दै छानविनको माग सहित एन्फामा निवेदन दिएको हो ।
सुभारम्भ युवा समाजले समूह चरणको अन्तिम खेलमा लगनशिल युवा क्लब र इमाडोल युवा क्लब बीचको खेल मिलेमतोमा भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरेको छ ।
‘लगनशिलका म्यानेजर दिपक मगरले हाम्रो प्रशिक्षक जितेन्द्र श्रेष्ठलाई फोन गरेर इमाडोलबाट अफर आएको बताएका रहेछन् । प्रशिक्षक र खेलाडीलाई इमाडोलबाट अफर आएको हाम्रो प्रशिक्षकलाई सुनाएपछि सो खेलमा मिलेमतो प्रष्ट देखिन्छ ।’ शुभारम्भ युवा समाजका अध्यक्ष सुदन खतिवडाले खेलपाटीसंग भने ।
लगनशिल र शुभारम्भ दुवै टिम धादिङ जिल्लाका रहेका छन् । शुभारम्भ गल्छी र लगनशिल ज्वालामुखीको टिम सी छनोट खेल्न काठमाडौं आएका थिए ।
पहिलो खेलमा शुभारम्भले लगनशिललाई १–० ले हराएको थियो र इमाडोलसंग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह चरणको अन्तिम खेल अघिनै लगनशिल प्रतियोगिताबाट बाहिरिने पक्का जस्तै थियो । लगनशिलको जितले शुभारम्भ अर्को चरण जाने समिकरण थियो । सोही अवस्थामा लगनशिलले दुवै पक्षसंग बार्गेनिङ गरेको शुभारम्भको आरोप छ ।
इमाडोलबाट प्रस्ताव आएको भन्दै आफुसंग समेत लगनशिलले बार्गेनिङ गरेको र आफुले बार्गेनिङ अस्विकार गर्दा लगनशिलले अन्तिम खेलमा मिलेमतो गरेको शुभारम्भको दाबी छ ।
‘प्रशिक्षकले खेल नगुमाउनुस र त्यसरी खेलेर अर्थ हुदैन भनेर अस्विकार गरे । त्यो भएपछि भोलि पल्ट इमाडोल र लगनशिलको खेल थियो । फेरी व्यवस्थापकले फोन गरेर खेलाडीलाई नभएर प्रशिक्षकलाई अफर आएको बताएका थिए ।’ शुभारम्भका अध्यक्ष खतिवडाले भने, ‘त्यसपछि हामी खेल हेर्न मैदान पुग्यौं । तर पहिलो र दोस्रो हाफको खेलमा पुरै अन्तर देखिन्छ ।’
खतिवडाले आफुसंग कल रेकर्डको प्रमाण नभएपनि प्रस्ताव आएको दाबी गर्दै आवश्यक छानविन गरि दोषी उपर कारबाही गर्न एन्फासंग माग गरेको बताए ।
‘आर्थिक प्रलोभनमा परेर खेल गुमाए जस्तो छ । निवेदनमा दिएका छौं । सुनुवाई होला । छानविन होला भन्ने लागेको छ ।’ खतिवडाले भने ।
घरेलु फुटबल म्याच फिक्सिङको जगन्य अपराधबाट गुज्रिरहेको छ । ए डिभिजनकै शीर्ष क्लब र खेलाडीले मिलेमतो गर्ने गरेको फुटबलका वरिष्ठ अधिकारीहरु बताउँछन् ।
तर फुटबलको सर्वोच्च निकायले यसको गम्भिर छानविन र आवश्यक कारबाही नगर्दा खेल मिलेमतो घरेलु फुटबलको मुख्य समस्याको रुपमा रहदै आएको छ ।
