काठमाडौं । थ्री स्टार क्लबले राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका युवा खेलाडी मिक्छेन तामाङ सहित तीन खेलाडीसँग सम्झौता नविकरण गरेको छ ।
थ्री स्टारले नयाँ सिजनको ए डिभिजन लिगका लागि तामाङ सहित डिफेन्डरद्धय जीवन गुरुङ र अशोक खवाससँग सम्झौता नविकरण गरेको हो ।
तीनै जना खेलाडीले पछिल्लो सिजनको ए डिभिजन लिगमा थ्री स्टारबाटै खेलेका थिए ।
क्लबले मिक्छेन सहित तीन खेलाडीले नयाँ सिजनका लागि सम्झौता नविकरण गरेको जनाएको छ ।
मिक्छेन साफ फुटबल र एसिया कप छनोटका लागि तयारी गरिरहेको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई ३६ जनामा सिमिति गर्दा मिक्छेन बाहिरिएका हुन् ।
मिक्छेन र अशोकले जेठमा सम्पन्न फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए । अशोकले धनगढी एफसी र मिक्छेनले ललितपुर सिटी क्लबबाट एनएसएलमा प्रतिस्पर्धा गरेका थिए ।
थ्री स्टारले नयाँ सिजनका लागि राष्ट्रिय फुटबल टिमका चार सदस्यलाई अनुबन्ध गरिसकेको छ ।
क्लबले डिफेन्डर अनन्त तामाङ सहित सञ्जोक राई, निशान खड्का र आयुष घलानलाई नयाँ सिजनको लिगका लागि अनुबन्ध गरिसकेको छ ।
कोभिडका कारण गत वर्ष ए डिभिजनको लिग हुन पाएन । यस वर्षको लिग असोज ३ गतेबाट सुरु गर्ने तयारी गरिएका छ ।