काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगका लागि राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको छ ।
थ्री स्टारले राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङसहित सञ्जोक राई, निशान खड्का र आयुष घलानलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको हो ।
क्लब स्रोतका अनुसार राष्ट्रिय टिमका चार खेलाडीलाई दुई वर्षका लागि अनुबन्ध गरिएको छ ।
अनन्त र आयुष राष्ट्रिय टिमका सदस्य हुन् । सञ्जोक र निशानले समेत राष्ट्रिय टिमबाट आफ्नो प्रभाव जमाईसकेका छन् ।
अनन्तले थ्री स्टारबाट पछिल्लो सिजनको 'ए' डिभिजन लिग खेलेका थिए । उनलाई नयाँ सिजनका लागि मनाङ सहितका ठुला क्लबले प्रयास गरेका थिए । तर अनन्तले थ्री स्टारमै बस्ने निधो गरे । चोटका कारण उनले बैशाखमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) पनि खेलेनन् । राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर अनन्तलाई अधिकांश क्लबले अनुबन्ध गर्न चाहेका थिए ।
सञ्जोकले समेत पछिल्लो सिजन थ्री स्टारबाट खेलेका थिए । राष्ट्रिय टिममा डेब्यु गरे लगत्तै उनले राम्रो प्रभाव जमाए । सञ्जोक प्रेरित नेपालले गत चैतमा सम्पन्न थ्री नेसन्स फुटबलमा स्वर्ण पदक हात पारेको थियो । उनले बैशाखमा भएको फ्रेन्चाईज फुटबल एनएसएलमा काठमाडौंबाट खेलेका थिए । एनएसएलको च्याम्पियन बनेको काठमाडौंका लागि सञ्जोकको प्रर्दशन उत्कृष्ट थियो । चोटका कारण उनले राष्ट्रिय टिमका नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको टोलीमा स्थान बनाउन सकेका थिएनन् । तर आसन्न साफ फुटबल र एसिया कप छनोटका लागि सञ्जोक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन् ।
निशानले थ्री स्टारबाट पछिल्लो सिजनको 'ए' डिभिजन लिग खेलेका थिए । एनएसएलमा भने उनी धनगढी एफसीमा आबद्ध भए । राष्ट्रिय टिमबाट समेत प्रभाव जमाईसकेका निशानलाई डिफेन्डरको रुपमा थ्री स्टारले नयाँ सिजन निरन्तरता दिने भएको हो । उनी समेत राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका छन् ।
आयुष राष्ट्रिय फुटबल टिमका कम उमेरका खेलाडी मध्यका एक हुन् । एनएसएलमा पोखरा थन्डर्सबाट चम्किएका आयुषलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अलमुताइरीले आफ्नो टिममा समावेश गरेका छन् । उनले 'ए' डिभिजन लिगको अनुभव बटुलेका छैनन् । तर,पछिल्ले समय उनले खुमलटारबाट 'बी' डिभिजन लिग खेलेका थिए । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका आयुषलाई राष्ट्रिय टिममा लामो समय प्रभाव पार्न सक्ने खेलाडी मानिएको छ । राष्ट्रिय टिमबाट डेब्यु गरेर पहिलो पटक 'ए' डिभिजन खेल्न लागेका आयुषले थ्री स्टारलाई रोजेका छन् ।