काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलानले डेब्यु गरेका छन् ।
फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ को दोस्रो चरणको छनोट अन्तर्गत आज अष्ट्रेलियाविरुद्ध मैदान प्रवेश गर्दै तीन खेलाडीले डेब्यु गरेका हुन् ।
अष्ट्रेलियासँग ३-० ले पराजित भएको खेलको ९० औं मिनेटमा मैदान प्रवेश गर्दै तीन खेलाडीले डेब्यु गरेका हुन् ।
कमल विशाल राईको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै सुरज एरिक विष्ट र आयुष सुमन लामाको स्थानमा मैदान छिरेका थिए ।
डेब्यु खेलाडी कस्ता ?
आयुष घलान (मिडफिल्डर, विंगर)
एनएसएलले चम्काएका खेलाडी हुन् आयुष घलान । एनएसएलमा पुरा ६ खेलनै पोखराबाट सेटमा रहेर खेलेका आयुषले प्रशिक्षक आब्दुल्लाहलाई प्रभावमा पार्न सफल भए । १७ वर्षमै एकेडेमी बाहिर रहेर राष्ट्रिय टोलीमा स्थान बनाएका मिडफिल्डर तथा विंगर आयुषले एक खेल पुरै समय खेल्दा अन्य खेलमा दोस्रो हाफमा परिवर्तन भएका थिए ।
एनएसएलमा ४१० मिनेट खेलेका आयुष पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । खुमलटारबाट 'बी' डिभिजन लिग खेलेका घलानलाई पोखराले आहा रारा गोल्डकपमा गरेको प्रदर्शनका आधारमा स्थानीय कोटामा क्लबमा तानेको हो । युवा खेलाडी चुनिएका घलानले संकटालाई पहिलो पटक आहा रारा गोल्डकपको उपाधि दिलाउन भुमिका खेलेका थिए ।
सुरज जिउ ठकुरी (मिडफिल्डर)
जावलाखेलबाट 'ए' डिभिजन लिग खेल्दै आएका सुरज पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल रहे । विराटनगर सिटी एफसीबाट ९ खेलनै खेलको सुरजलाई प्रशिक्षक अब्दुल्लाहले विश्वास गरेका छन् ।
विराटनगरबाट सुरुवाती ३ खेल दोस्रो हाफमा खेलेका सुरजले पछिल्ला तिन खेलमा भने प्रभाबशाली प्रदर्शन गर्दै पुरा मिनेट खेलेका थिए । २१ वर्षीय सुरजले एनएसएलमा ३४० मिनेट खेलेका छन् ।
कमल थापा (मिडफिल्डर)
प्रशिक्षक अब्दुल्लाहले बोलाएको नयाँ ६ खेलाडीमा लो प्रोफाइलका खेलाडीनै कमल थापा हुन् । कुनै समय एन्फा एकेडेमीका यी खेलाडी गुमनाम रहँदै आए । पछिल्लो सिजन उनले हिमालयन शेर्पाबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
एनएसएलबाट चर्चामा आएका कमलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एकेडेमीमा विमल घर्ति मगर, अन्जन बिष्टको ब्याजका खेलाडी रहेका उनी एनएसएलमा समेत भाग्यमानी रहे ।
पोखराका भिषण गुरुङलाई कोरोना लागेसँगै स्थानीय खेलाडीको कोटामा कमलले स्थान पाएका हुन् । उनले एनएसएलको पछिल्ला ३ खेल मात्रै खेल्न पाए । त्यो पनि बेन्चमै रहेर । २३ वर्षीय कमलले एनएसएलमा जम्मा १९ मिनेट खेलेका छन् ।