काठमाडौं । फ्रान्स राष्ट्रिय टोली आधिकारिक रूपमा १९०४ मा स्थापना भएको थियो । फिफाको जग बसाल्नु भन्दा पहिले फ्रान्सले १९०० मा ओलम्पिक खेलमा सहभागिता जनाईसकेको थियो । जहाँ फ्रान्सले रजत पदक समेत जित्यो ।
फ्रान्सले आफ्नो पहिलो आधिकारिक खेल बेल्जियमविरुद्ध ब्रसेल्समा ३–३ को बराबरी खेलेको थियो । फ्रान्सले अर्को वर्ष, आफ्नो पहिलो घरेलु खेल प्रख्यात पार्क डेस प्रिन्सेसमा खेल्यो । ५ सय दर्शनका अगाडी भएको खेलमा फ्रान्सले स्विजरल्याण्डस्लाई पराजित गरेको थियो । त्यसपछि १९०६ मा इङ्ल्यान्डसँग १५–० को फराकिलो हार व्यहोर्न पुग्यो । यो लज्जास्पद हारसँगै फ्रान्सले धेरै क्षतिहरूको सामना गर्नुपरेको थियो ।
इतिहासको सुरुवातमा फ्रान्सले आफ्नो पहिचान खोज्नमै संर्घष गर्यो । धेरैजसो मुद्दाहरू फिफा र फ्रान्सको मुख्य खेल संघ युएसएफएसएबीचको असहमतिले निम्तिएको थियो । यी मतभेदहरू १९०८ को ओलम्पिकको ठिक अगाडी आएको थियो । यसको परिणामस्वरूप फिफा र युएसएफएसएले दुई अलग फ्रान्सेली टोलीलाई प्रतिस्पर्धामा पठायो । तर, दुबै टोली डेनमार्कद्धारा पराजित हुन पुगे । फिफाद्वारा पठाइएको फ्रान्स 'ए' १७–१ ले पराजित भएको थियो भने फ्रान्स बीले ९–० को हार ब्यहोर्न पुग्यो ।
त्यस वर्षपछि फ्रान्सेली इन्टरफेडरल कमिटीले हस्तक्षेप गर्यो र फिफालाई राष्ट्रिय टोलीको लागि जिम्मेवारी दियो । त्यसपछि चर्केको विवादमा असफल भएपछि युएसएफएसए अन्ततः विघटन हुन पुग्यो ।
सन् १९९३ मा अर्ध–सम्बन्ध फ्रान्सेली इन्टरफेडरल कमिटी आएको थियो । ६ वर्ष पछि फ्रान्सेली इन्टरफेडरल कमिटी, फ्रान्सेली फुटबल संघमा रूपान्तरण भयो । जुन हालसम्म छ । यो नयाँ स्थिरताले केही आशाजनक प्रदर्शनहरूमा योगदान पुर्यायो । जहाँ फ्रान्सले पहिलो पटक इङ्ल्यान्डमाथी २–१ को जित निकालेको थियो ।
विश्वकप खेल्न ३ साताको समुन्द्री यात्रा
१९३० मा, फ्रान्सले उरुग्वेमा आयोजित पहिलो विश्वकपमा भाग लियो । दक्षिण अमेरिकासम्म लामो दुरीको यात्रा तय गर्नु पर्ने भएकाले ४ युरोपियन राष्ट्रले मात्र सहभागिता जनाएका थिए । त्यस्तै एशिया र अफ्रिकाबाट कुनै पनि राष्ट्रको सहभागीता रहेको थिएन । १९३० को विश्वकप एक मात्र त्यस्तो विश्वकप हो जसमा सहभागी टोलीले छनोट चरण पार गर्नु परेन ।

पहिलो विश्वकपमा करिब ३ साताको समुन्द्री यात्रापछि फ्रान्स उरुग्वे पुगेको थियो । लामो समुन्द्री यात्रापछि उरुग्वे पुगेको फ्रान्सले विश्वकपको इतिहासका पहिलो गोल गर्यो । जहाँ फ्रान्स विश्वकपमा गोल गर्ने पहिलो टोली समेत बन्यो । मेक्सिकोमाथि ४–१ को जित निकाल्दा लुसिएन लाउरेन्टले विश्वकपकै पहिलो गोल गरेका थिए । उनले १९ औं मिनेटमा गोल गर्दै विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने ।
तर, त्यसपछिका बाँकी दुई खेल अर्जेन्टिना र चिलीसँग पराजित भएपछि फ्रान्स समूह चरणबाट बाहिरियो । अर्जेन्टिनासँग १–० ले पराजित भएको खेल रेफ्रिले ६ मिनेट बाँकि रहँदै खेल समाप्तिको घोषणा गरेका थिए । तर, खेल पछि पुनः सुचारु भएपनि फ्रान्सले गोल गर्न सकेन । १९३४ को विश्वकप पनि अर्को निराशाजनक प्रदर्शनको रूपमा समाप्त भयो । जहाँ पहिलो खेलमा नै अस्ट्रियासँग पराजित हुन पुग्यो ।
चार वर्षपछि फ्रान्सले घरेलु भूमिमा विश्वकप आयोजना गर्ने अवसर पायो । आयोजका रुपमा स्वतः छनोट भएको फ्रान्सले पहिलो खेलमा पुरानो प्रतिद्वन्द्वी बेल्जियमलाई ३–१ ले पराजित गर्यो । क्वाटरफाइनल खेलमा फ्रान्सले डिफेन्डिङ च्याम्पियन इटालीको सामना गर्यो । तर, क्वाटरफाइनलमा ३–१ ले पराजित हुन पुग्यो ।

महानताका रंगहरू
फ्रान्सको पहिलो सुनौलो पुस्ता ५० को दशकमा आइपुग्यो । रचनात्मक डायनामो रेमन्ड र प्रशंसनीय स्ट्राइकर फोन्टेइनेको नेतृत्वमा फ्रान्सको टोली एक राम्रो टोलीमा परिणत भए । यस टोलीले १९५४ को विश्वकपमा डेब्यू गरेको थियो । पहिलो खेलमा युगोस्लाभियालाई १–० ले पराजित गरे पछि पनि दोस्रो खेलमा मेक्सिकोसँग ३–२ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरन पुग्यो ।
सन् १९५४ को विश्वकप प्रदर्शन अस्थायी मात्र रहेको प्रमाणित गर्न फ्रान्सले १९५८ को विश्वकप छनोटमामा प्रवेश गर्यो । प्रतियोगितामा राम्रो सुरुवात गर्दै समूह चरणबाट अगाडी बढे । सेमिफाइनल पुगेको फ्रान्स पेलेप्रेरित ब्राजिलसँग ५–२ को हारको सामना गर्न पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा वेस्ट जर्मनीलाई हराउँदै फ्रान्सले पहिलो पटक तेस्रो बन्यो । यसै प्रतियोगितामा जस्ट फोन्टेइनेले सर्वाधिक १३ गोल कीर्तिमान बनाए । जुन अहिलेसम्म तोडिएको छैन ।
त्यसको दुई वर्ष पछि, पहिलो यूरोपीयन च्याम्पियनशिपको सेमिफाइनलमा पुग्ने टोली मध्येको एक थियो फ्रान्स । जहाँ फ्रान्स डायनामो रेमन्ड र फोन्टेइने विनानै खेल्न बाध्य भयो । तर, फ्रान्स युगोस्लाभियासँग ५–४ ले पराजित हुन पुग्यो । ७४ औं मिनेटसम्म ४–२ को अग्रता बनाएको फ्रान्सले चार मिनेट भन्दा कमको समयमा तीन गोल खान पुग्यो । तेस्रो स्थानको खेलमा फ्रान्स चेकोस्लोभाकियासँग २–० ले पराजित हुन पुग्यो ।
लयबाट झरेको फ्रान्स
प्रारम्भिक ६० को दशकमा सुनौलो पिढीका प्राय खेलाडीले सन्यास लिइसकेका थिए । जसले टोलीको लय र नतिजामा ठूलो गिरावट ल्यायो । १९६२ को विश्वकपमा छनोट हुन नसकेको फ्रान्सले १९६६ को विश्वकपमा स्थान बनायो । तर, फ्रान्स प्रतियोगितामा जित विहीन हुँदै बाहिरिन पुग्यो । फ्रान्स विश्वकपमा आफ्नो समूहको पुछारमा रह्यो । जसमा मेक्सिको, उरुग्वे र इङ्ल्यान्ड थिए ।
यसपछिको दशकमा फ्रान्स लयबाट निकै टाढा पुगिसकेको थियो । किनकि फ्रान्स कुनै ठूलो प्रतियोगितामा छनोट हुन सकेन । यस अवधिमा, फ्रान्सेली फुटबल संघले थुप्रै प्रशिक्षक नियुक्त र बर्खास्त गर्यो । तर परिणाम ल्याउन सकेन ।
सन् १९७६ मा मिशेल हिडाल्गोको नियुक्ति नभएसम्म मिडफिल्डर मास्ट्रो मिशेल प्लाटिनीको नेतृत्वमा प्रतिभाशाली नयाँ पुस्ताको आगमन भएको थियो ।
फ्रान्समा प्लाटिनी शो
१९७८ को विश्वकपमा समूह चरणबाट बाहिरिएपछि फ्रान्स त्यसको चार वर्ष पछि अर्को विश्वकपमा बदलाको भावना लिएर फर्कियो । प्लाटिनी, टिगाना, गिरेसे र फर्नान्डीजले मिडफिल्डमा उत्कष्ट प्रदर्शन गरेपछि फ्रान्स सेमिफाइनल पुग्यो । तर, सेमिफाइनलमा पश्चिम जर्मनीसँग पराजित हुन पुग्यो । विश्वकप इतिहासको सबै भन्दा राम्रो खेलहरूमा फ्रान्सले पश्चिम जर्मनीसँग यस पटक खेलेको थियो । तर, खेल पेनाल्टीमा हार्न पुग्यो । फ्रान्स तेस्रो स्थानका लागि भएको खेलमा पोल्याण्डसँग ३–२ ले पराजित भयो ।
तिनीहरूको उत्कृष्ट प्रदर्शन यूरो १९८४ मा जारी रह्यो । जुन २४ वर्षमा पछि फ्रान्स पहिलो पटक यूरोपीयन च्याम्पियनशिपमा सहभागिता जनायो । यस पटक, क्यारि म्यागिक्यु पूर्ण लयमा थिए । टिगाना र फर्नान्डीज प्लेमेकर्स, गिरेसे विग्स र प्लाटिनी स्ट्राइकरको पछाडी खेलिरहेका थिए । केही कडा प्रतिस्पर्धाको बावजुद, फ्रान्सले पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्यो । प्रतियोगितामा फ्रान्सले खेलेका ५ वटै खेल जितेको थियो । प्लाटिनीले ९ गोल गरे ।

हिडाल्गोले युरो पछि टिम छोडेको भए पनि, फ्रान्सले १९८६ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्यो । तर, प्लाटिनी र गिरेसेले चोट बोकेपछि टोलीमा समस्या देखियो । उनीहरुले इन्जेक्सन लगाएर खेलेका थिए । जसले उनीको विश्वकपको आशा मर्न थाल्यो । ब्राजिल र इटालीलाई नकआउट चरणमा पराजित गर्दै सेमीफाइनल पुगेको फ्रान्स पश्चिम जर्मनीसँग २–० ले पराजित भयो । तर, अतिरित्त समयमा बेल्जियमसँग ४–२ को पराजित गर्दै तेस्रो बन्यो । जुन विश्वकपकै उत्कृष्ट नतिजा थियो ।
हराएका वर्षहरू
सन् १९८८ मा आफ्नो खेल करियरको अन्त्यमा प्लाटिनी फ्रान्सको प्रशिक्षक बने । उनले तत्काल लाउरेन्ट ब्लान्क, एरिक कान्टोना र डिडिएर डेशच्याम्प्स जस्ता प्रतिभाशाली युवा खेलाडीलाई टोलीमा समावेश गरे । लगातार १९ खेल र लगभग तीन वर्ष अविजित भएपछि फ्रान्स युरो १९९२ को समूह चरणमा पराजित भयो र बाहिरियो । त्यसको लगत्तै, प्लाटिनीले टिमको प्रशिक्षकबाट पदबाट राजीनामा गरे ।
यसअघिको विश्वकप गुमाएको फ्रान्स १९९४ को विश्वकप छनोटमा लयमा देखिएको थियो । खास गरी एक पटक फ्रान्स ६ खेल अविजित रुपमा गएको थियो । तर, इजरायलसँग ३–२ ले हार्यो । अन्तिम खेलमा बुल्गेरियाविरुद्ध पराजित हुन पुग्यो । खेल सकिन अन्तिम ३० सेकेन्ड बाँकी रहँदा गोल खाएपछि २–१ को हारसहित फ्रान्स प्रतिस्पर्धाबाट बाहिरियो ।
जिदान युग
विश्वकपमा छनोट हुन् असफल भएपछि फ्रान्स एफएले नयाँ प्रबन्धकको रूपमा आइमे ज्याक्युटलाई नियुक्त गर्यो । टोलीमा ज्याक्युट र युवास्टार जिनेदिन जिदानको साथ पाएको फ्रान्स सजिलै यूरो १९९६ का लागि छनोट भयो । युरोमा क्वाटरफाइनलमा नेदरल्याण्डलाई हराउदै अगाडी बढेको फ्रान्स सेमिफाइनलमा चेक रिपब्लिकसँग पेनाल्टीमा पराजित हुन पुग्यो ।
सन् १९९८ विश्वकपको आयोजक फ्रान्स उपाधि जित्ने सबैभन्दा बढी सम्भावना बोकेको टोली मध्येको एक थियो । डेनमार्क, साउदी अरेबिया र दक्षिण अफ्रिकालाई पराजित गर्दै शीर्ष १६ मा पुगेको फ्रान्सले पराग्वेलाई पराजित गर्यो । त्यसपछि फ्रान्सले इटाली र क्रोएसियालाई पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गर्यो । जिदानको दुई गोल र पेटिटको एक गोलको मद्दतमा फ्रान्सले आफ्नो पहिलो विश्वकपको उपाधि जित्यो ।

ज्याक्युटले जितको साँझ टोली छोडे पनि फ्रान्स अझै युरो २००० मा शीर्ष स्थानमा थियो । जिदान लयमा थिए भने डेभिड ट्रेजेगुएट र थियरी हेनरीको डरलाग्दो स्ट्राइक लाइनमा फ्रान्सले आफ्नो समूह चरण पार गर्यो । स्पेन र पोर्चुगललाई हराउँदै फाइनल पुगेको फ्रान्सको अन्तिम खेल इटालीसँग तय भएको थियो । इटालीलाई पनि २–१ ले पराजित गर्दै युरोमा दोस्रो उपाधि जित्यो ।
डेथ अफ डेन्सिटी
२००२ को विश्वकपमा फेरी फ्रान्स आफ्नो पुरानो लयमा फर्कियो । फ्रान्सले समूहमा खेलमा कुनै पनि गोल गर्न सकेन् । १९६६ मा ब्राजिल पछि फ्रान्स समूह चरणबाटै बाहिरिने दोस्रो विश्व विजेता टोली बन्यो । यसपछि फ्रान्सले युरो २००४ मा अर्को खराब प्रदर्शन गर्यो । जहाँ क्वाटरफाइनलमा च्याम्पियन ग्रीससँग १–० ले पराजित हुन पुग्यो ।
सन् २००६ को विश्वकप जित्ने फ्रान्ससँग एक मौका थियो । यद्यपि समूह चरणमा संघर्ष गर्नु परेपनि नकआउट चरणमा स्पेन, ब्राजिल र पोर्चुगललाई पराजित गर्दै फाइनल पुगेको थियो । फाइनलमा फ्रान्सको प्रतिद्वन्द्वी इटाली थियो । तर, यस पटक फ्रान्सले एउटा घातक झट्काको सामना गर्यो । जिदानले मेटेराजीमाथी गम्भिर ट्याकल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाए । अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमा पुग्यो । जहाँ फ्रान्स इटालीसँग पेनाल्टीमा ५–३ ले पराजित भयो ।
जिदानले टोलीबाट सन्यास लिएपछि फ्रान्स मैदानमा एक लिडरविना छोडिएको टिम जस्तो देखिन्थ्यो । यसले फ्रान्सलाई निराशाजनक नतिजाहरुमा पुर्रायो । युरो २००८ र २०१० विश्व कपमा समूह चरणबाट बाहिरियो । यूरो २०१२ मा फ्रान्सले सुधारिएको प्रदर्शन गर्यो । तर सिमित खेलमा मात्रै । समूह चरण पार गरेपनि क्वाटरफाइनलमा च्याम्पियन स्पेनसँग पराजित हुन पुगे ।

डेशच्याम्प्सको हातमा
यूरो २०१२ लगत्तैपछि, डिडिएर डेशच्याम्प्सले टिमको प्रशिक्षकको जिम्मा लिए । पूर्व कप्तान जसले सन् १९९८ को विश्वकप र यूरो २००० जितेका थिए । डेशच्याम्प्सले टोलीमा विजयी मानसिकता ल्याउने अपेक्षा गरिएको थियो । प्रशिक्षकको रुपमा उनले पहिलो प्रतियोगिता २०१४ को विश्वकप थियो र प्रारम्भिक नतिजा सकारात्मक थियो । फ्रान्स आफ्नो समूहबाट अगाडि बढ्यो । तर, शीर्ष १६ मा नाइजेरियालाई पराजित गरेको फ्रान्स क्वाटरफाइनलमा च्याम्पियन जर्मनीसँग १–० ले पराजित हुन पुग्यो ।
यूरो २०१६, डिशच्याम्प्स र उनको बढ्दो युवा टिमका लागि अर्को राम्रो सुरुवात थियो । आयोजक टोलीका रूपमा फ्रान्सले कडा समूहबाट अगाडि बढेको थियो । शीर्ष १६ मा आयरल्यान्डलाई पराजित गरेको फ्रान्सले क्वाटरफाइनलमा आइसल्यान्डलाई ५–२ ले पराजित गरेको थियो । सेमिफाइनलमा जर्मनीलाई २–० ले पराजित गरेपछि फाइनलमा पोर्चुगलसँगको भेट पक्का गरेको थियो । तर, फाइनलमा फ्रान्स अतिरिक्त समयमा पोर्चुगलसँग पराजित हुन पुग्यो ।
दोस्रो विश्वकप
दुई वर्ष पछि, डेशच्याम्प्सले २०१८ को विश्वकपमा अर्को ठूलो परीक्षाको सामना गर्नु पर्यो । एकपटक, अपेक्षाहरू उच्च थियो, किनकि फ्रान्सले आफ्नो छनोटमा समूहका १० खेलमा मात्र एक खेलमा पराजित हुँदै २३ अंक जोडेको थियो । फ्रान्सले छनोटमा बुल्गेरिया र लग्जम्बर्गसँग गोलरहित बराबरी खेलेको थियो ।
विश्वकपको समूह चरणमा डेनमार्कसँग गोलरहित बराबरी खेले पनि अष्ट्रेलिया र पेरुलाई पराजित गर्दै शीर्ष १६ मा प्रवेश गरेको थियो । फेरि, नकआउट चरणहरूमा फ्रान्सको टोली पूर्ण भिन्न देखा पर्यो । प्रतियोगिताको एक उत्कृष्ट खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गर्यो । नकाउटमा क्रमशः उरुग्वे र बेल्जियमलाई पराजित गर्दै फाइनल पुग्यो । फाइनलमा पनि अर्को प्रभावशाली प्रदर्शन गर्यो ।

फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै उपाधि जित्यो । यस जितसँगै फ्रान्स दोस्रो विश्वकपको उपाधि जित्ने छैटौं टोली बन्यो । समान चार चार गोल गरेका केलियन एमबाप्पे सर्वोत्कृष्ट युवा खेलाडी घोषित भएका थिए भने एन्टोइन ग्रिजम्यानले ब्रान्ज बल र सिल्भर बुट जितेका थिए ।
यतिबेला फ्रान्स टोली युरो २०२० को तयारीमा छ । कोरोना महामारीका कराण एक वर्षपछि सरेको युरोका लागि विश्व च्याम्पियन फ्रान्स प्रमुख दावेदार मध्यएको एक हो ।
-एजेन्सीको सहयोगमा
विश्वकपको प्रदर्शन दोहोर्याउने आशा
युद्धपछि बेल्जियमको संघर्ष