एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले सानदार जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया मन्छेनग्लाडबाखमाथि ६-० गोल अन्तरको जित निकालेको हो ।
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे ।
यस्तै थोमस मुलर, किङ्स्ले कोम्यान र लोरी सानेले एक एक गोल गरे ।
लेवान्डोस्कीले दोस्रो मिनेटमै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
४४ औं मिनेटमा कोम्यानले गोल गर्दा बायर्न ४-० ले अघि रह्यो ।
खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । यस सिजन बुन्डेसलिगामा उनको ३९ औं गोल हो ।
७५ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटियो । डिफेन्डर तान्गुए निन्जोउले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ६-० को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको बायर्नले ३२ खेलमा ७४ अंक जोडेको छ ।
बायर्नले शनिबार नै उपाधि जितिसकेको छ ।
शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।
मन्छेनग्लाडबाख ४६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।