काठमाडौं । बुटवल लुम्बिनी एफसीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पेनाल्टीमा गोल गर्न नसक्दा काठमाडौं रेजर्ससँग पराजित हुनु परेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बुटवल काठमाडौंसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
खेलपछि प्रशिक्षक श्रेष्ठले सुरुवातमै गोल खादा र पेनाल्टीमा गोल गर्न नसक्दा पराजित भएको बताए ।
'सुरुवाती पाँच मिनेटमा नै गोल खाएपछि खेल परिवर्तन भयो । त्यसको एक मिनेटमा नै पेनाल्टी अवसर पाएका थियौ तर गोल गर्न नसक्दा हार्न पुग्यौं,' उनले भने ।
प्रशिक्षक श्रेष्ठले पहिलो रोजाईका दुई खेलाडीले चोट बोकेको कारण पनि खेलमा कठिन भएको बताए ।
'हाम्रो पाहिलो रोजाईको दुई खेलाडी नभएर अलि गार्हो भयो । अमित श्रेष्ठ र रबिन श्रेष्ठले चोट बोकेका छन्,' उनले भने, ' पहिलो हाफमा हामी डोमिनेट नै भएर खेल्यौं । बल पकड पनि राख्न सकेनौं । तर, दोस्रो हाफमा ठिकै खेलेका थियौं ।'
बुटवलको यो पहिलो हार हो । यस हारसँगै बुटवल शीर्ष स्थानमा उक्लन असफल भएको छ ।
बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा झरेको छ ।