काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अहिले बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा काठमाडौंले १-० को अग्रता बनाएको छ ।
खेलको चौंथो मिनेटमा काठमाडौंका तेज तामाङको क्रसमा स्टेफेन बिनोङको हेडर बुटवलका गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट उत्कृष्ट बचाउ गरे ।
तर, पाँचौं मिनेटमा स्टेफेन बिलोङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाए । सुदिल राईको लामो पासमा गोलरक्षक विशाल श्रेष्ठ आउन ढिलो गरेपछि स्टेफेनले सहजै गोल गरेका थिए ।
खेलको छैटौं मिनेटमा बुटवलले पेनाल्टीबाट बराबरी गर्ने मौका पायो । काठमाडौंका विश्वास श्रेष्ठले सुमन लामालाईलडाएपछि बुटवलले पेनाल्टी पाएको थियो ।
तर, पेनाल्टीमा बुटवलका विलियम ओपोकु गोल गर्न चुके । उनको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाऊ गरे ।
खेलको १८ औं मिनेटमा कर्नरबाट आएको बलमा छिरिङ गुरुङको प्रहार बुटवलका डिफेन्डर ओलोलाजा करिमले गोललाइनबाट बचाए ।
पहिलो हाफको इन्जुरी समयमा काठमाडौंका आशिष राईको डिबक्स बाहिरबाटको सशक्त प्रहार पोस्टबारमा लाग्दै फर्किएको थियो ।
आज बुटवल दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रिएको छ ।
आज काठमाडौंलाई पराजित गर्न सकेमा बुटवल शीर्ष स्थानमा उक्लने छ ।
बुटवल ३ खेलमा ५ अंक जोडेको तेस्रो स्थानमा रहेको छ ।
काठमाडौं पनि बुटवललाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
बुटवललाई हराएको खण्डमा काठमाडौंले शीर्ष दुई भित्र उक्लने छ ।
काठमाडौं ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।