काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले संघर्षपूर्ण जित निकालेको छ ।
बिहीबार भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे ।
श्री भगवतीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा सुनिल शाहीको आत्मघाती गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो ।
तर, खेलको ३२ औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५६ औं मिनेट नवराजले गोल गर्दै फेरि श्री भगवतीलाई २-१ को अग्रता दिलाए ।
खेलको ६८ औं अनिशले गोल गर्दै झम्सिखेललाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३-२ को जित दिलाए ।
यस जितसँगै श्री भगवती लिगको आठौं स्थानमा उक्लिएको छ ।
श्री भगवतीले ९ खेलमा ९ अंक जोडेको छ ।
झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।