काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नयाँबस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा सचुको गोलबाट नयाँबस्तीले अग्रता बनाएको थियो ।
खेलको ५७ औं मिनेटमा भुपालले पेनाल्टीमा गोल गर्दै मध्यपुरलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा अबयले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाए ।
कोरोना भाईरसको महामारीको कारण गत वर्षको चैतबाट रोकिएको 'बी' लिग एन्फाले पुन: सुरु गरेको हो ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।