काठमाडौंं । राष्ट्रिय महिला लिग खेल्ने क्रममा चोट बोकेकी स्ट्राईकर सावित्रा भण्डारी (साम्बा) को उपचारको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल एसोसियसनलाई पत्र पठाएको छ ।
एन्फाले सावित्राको उपचारमा सहयोग गर्नका लागि कतारलाई पत्र पठाएको हो ।
‘उपचार सहयोगका लागि कतारलाई पत्र पठाएका छौं । चाडै नै जवाफी पत्र आउनेछ,’ एन्फा स्रोतले खेलपाटीसँग भन्यो ।
एन्फाले पठाएको पत्रको जवाफ आएसँगै सावित्राको शल्यक्रियाको टुंगो लाग्ने स्रोतले बताएको छ ।
कतार फुटबल एसोसियसनकै सहयोगमा राष्ट्रिय पुरुष फुटबल टोलीका दुई सदस्य विमल घर्ति मगर र बिक्रम लामा पनि उपचारको लागि दोहामा रहेका छन् ।
बिक्रममा सफल शल्यक्रिया भईसकेको छ भने विमलको मार्च ९ मा हुने बताईएको छ ।
राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिसविरुद्धको खेलमा सावित्राले चोट बोकेकी थिइन् ।
सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको छ । उनको शल्यक्रिया गर्नु पर्नेछ ।
चोटको कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् । उनी करिब एक वर्ष मैदान बाहिर रहने छिन् ।
लिगको उपाधि एपीएफले अपराजित रहदै जितेको थियो ।
सावित्राले लिगको १० खेलमा ४३ गोल गरेकी थिइन् । उनि लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् ।
सावित्राले चोट बोकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सविच रमेश कुमार सिलवालले उनको उपचारमा सक्रिय रहने र उपचारमा कुनै कमी हुन नदिने बताउदै आएका छन् ।