काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल शुक्रबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफ र त्रिभुवन आर्मी क्लबको खेलसँगै महिला लिग सकिएको हो ।
महिला लिगको उपाधि एपीएफले हात पार्यो । आर्मी उपविजेता बन्यो ।
यस्तै महिला लिगको सर्वोत्कृष्ट खेलाडी एपीएफ क्लबकी सरु लिम्बु चुनिईन् ।
सर्वोत्कृष्ट खेलाडी बनेसंगै सरुले यामाहाको स्कुटर प्राप्त गरिन् ।
यस्तै एपीएफ क्लबकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिस क्लबकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर र एपीएफ क्लबकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले जनही ५० हजार प्राप्त गरेका छन् ।
लिगमा व्यक्तिगत विधामा उत्कृष्ट बनेपछि के भन्छन् खेलाडी ?
सरु लिम्बु (सर्वोत्कृष्ट खेलाडी)
लामो समयपछि खेलमा फर्किएका थियौं । डर थियो कस्तो होला भनेर । ट्रेनिङमा पनि राम्रो खेल भएको थिएन । तर, लिग सुरु भएपछि खेलमा समस्या भएन ।
सर्वोत्कृष्ट खेलाडी बन्छु भन्ने सोचेको थिए । उत्कृष्ट मिडफिल्डर हुन्छु भन्ने अलिकति आश भने थियो ।
सावित्रा भण्डारी (उत्कृष्ट फरवार्ड )
कोरोनालाई जितेर आयौं । फुटबल नहुनेमा चिन्ता थियो । तर, फुटबल भयो । पहिलेको भन्दा अहिले व्यवस्थित लिग भयो ।
अहिले विभागलाई सबै टिमले चुनौती दियो । महिला खेलाडीको स्तर बढेको छ । जुनियर खेलाडीले मोर्डन फुटबल खेलेको छ । सबै खेलाडीमा खेल्नु पर्छ र देशको लागि केहि गर्नु पर्छ भन्ने भावना देखियो ।
दोस्रो राउण्डमा सबै टिमले सुधारिएको खेल खेल्यो । सबै टिम उपाधिको लागि योग्य थिए ।
टिमले गर्दा उत्कृष्ट फरवार्ड पाएको छु । टिमलाई हृदयबाट धन्यवाद दिन चाहन्छु । टिमले सोचेको जस्तै खेल्यो ।
उषा नाथ (उत्कृष्ट गोलकिपर)
लिगमा राम्रो भयो । टिमलाई सोचे भन्दा राम्रो दिए । खुसी छु । सोचेको थिएन उत्कृष्ट हुन्छु भनेर । यस अवार्डले अझै राम्रो गर्ने हौशला दिएको छ ।
अमृता जैशी (उत्कृष्ट डिफेन्डर)
लिग राम्रो रह्यो । टिमको स्कोर राम्रो भएन पहिलो चरणमा । दोस्रो चरणमा राम्रो भयो । उत्कृष्ट डिफेन्डर पाउछु भन्ने लागेको थिएन । राम्रो खेले जस्तो लाग्छ । अझै खेलको लागि मेहेनत गर्नु पर्छ ।
विमला चौधरी (उत्कृष्ट मिडफिल्डर)
समग्रमा भन्दा व्यक्तिगत प्रदर्शन राम्रो भयो । आज सोचे जस्तो टिम र मेरो खेल भएन । आज आफ्नै गल्तिले गोल खायौं । जित्ने सोचेर आएका थियौ सकेनौं ।