काठमाडौं । टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर २ र ३ विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको तेस्रो दिन बुधबार वडा नम्वर ३ ले वडा नम्वर ६ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर ३ को जितमा विजय महर्जनले गरेको गोल नै निर्णायक बन्यो । उनले १८औं मिनेटमा गोल गरेका थिए ।
बुधबार नै भएको खेलमा वडा नम्वर २ ले वडा नम्वर १ माथि १–० कै जित निकाल्यो । इन्ज्युरी समयमा सरोज श्रेष्ठले गरेको गोल नै वडा नम्वर २ को जितमा निर्णायक बन्यो । कप्तान इश्वर राज जोशीको फ्रिकिक रिवाउन्ड भएर फर्कदा सरोज श्रेष्ठले गोल गर्न सफल भएको थियो ।
प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
पोल ‘ए’ मा वडा नम्वर ३, ६ र ७ तथा पोल ‘बी’ मा १, २, ४ र ८ वडा रहेको छ ।
एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा भएको प्रतियोगितामा बिहीबार दुई खेल हुनेछ । वडा नम्वर ८ र ४ तथा वडा नम्वर ७ र ३ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता १३ माघसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।