एजेन्सी । इटालियन क्लब रोमा युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा सीएफआर क्लुजलाई २-० ले पराजित गर्दै रोमा अन्तिम ३२ मा प्रवेश गरेको हो ।
क्लुजको मैदानमा रोमालाई जित दिलाउन जोर्डन भेरेटाउटले एक गोल गरे । रोमाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा गाब्रिएल डेबेलजुहको आत्मघाती गोलबाट रोमाले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा जोर्डनले पेनाल्टीमा गोल गर्दै रोमालाई २-० को जित दिलाए ।
जितसँगै समूह 'ए' को रोमाले ४ खेलमा १० अंक जोडेको छ । रोमा शीर्ष स्थानमा समेत रहेको छ ।
क्लुज ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
युरोपा लिग अन्तर्गत नै अर्को इटालियन क्लब एसी मिलान भने फ्रेन्च क्लब लिलसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।
यस्तै नापोलीले भने रिजिकालाई २-० ले हराएको छ ।