एजेन्सी । इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगिज क्लब ब्रागासँग ३-३ गोलको बराबरी खेल्दै लेष्टर अन्तिम ३२ मा प्रवेश गरेको हो ।
ब्रागाको मैदानमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता घरेलु टिमले बनाएको थियो ।
खेलको चौंथो मिनेटमा अल मुस्रातीले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए ।
नवौं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २४ औं मिनेटमा पाउलिन्होले गोल गर्दै ब्रागालाई २-१ को अग्रता दिलाए ।
खेलको ७९ औं मिनेटमा लुक थोमसले गोल गर्दै लेष्टरलाई २-२ गोलको बराबरीमा ल्याए । १९ वर्षीय थोमस लेष्टरका लागि युरोपियन फुटबलमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी समेत बने ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा रोड्रिगेस बार्बोसाले गोल गर्दै ब्रागालाई ३-२ को अग्रता दिलाए ।
तर, इन्जुरी समयको अन्तिम मिनेटमा जेमी भार्डीले गोल गर्दै लेष्टरलाई ३-३ गोलको बराबरी ल्याएका थिए ।
ब्रागाविरुद्धको गोलसँगै ३३ वर्षीय भार्डी लेष्टरका लागि युरोपियन फुटबलमा गोल गर्ने सर्वाधिक पाको उमेरका खेलाडी समेत बने ।
यस बराबरीसँगै समूह जीको लेष्टरले ४ खेलमा १० अंक जोडेको छ । लेष्टर शीर्ष स्थानमा समेत रहेको छ ।
ब्रागा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ब्रागाको पनि नकआउट चरणको सम्भावना रहेको छ ।