एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले यूईएफए च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा डर्टमण्डले क्लब ब्रुगलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले सहज जित निकालेको हो ।
खेलको १८ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा जाडोन सान्चोले गोल गर्दा डर्टमण्ड २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६० औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ३-० को जित दिलाए ।
जितसँगै डर्टमण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
समूह एफको डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ । डर्टमण्ड शीर्ष स्थानमा रहेको छ ।
क्लब ब्रुग ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा लाजियोले जेनिट सेन्ट पिटर्सबर्गलाई ३-१ ले हराएको छ ।