काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए ।
नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा तयारी सुरु गरेको हो ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।
टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।