काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज (बिहीबार) बाट प्रशिक्षण सुरु गर्दैछ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गर्न लागेको हो ।
पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ ।
प्रशिक्षणका लागि खेलाडीहरु काठमाडौं आईसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा राखेको छ ।
प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिईसकेको छ ।
नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ ।
मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेको कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
कोरोना भाईरसको महामारीको कारण स्विडेन सरकारले भ्रमणमा कडाई गरेपछि कालिन नेपाल फर्कन नपाएको एन्फाले जनाएको छ ।
यस्तै टिमको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।