एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
१० खेलाडीमा सिमित बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २/२ गोल गरे । अर्मिनियाका रितुस डोनले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २६ औं मिनेटमा लेवान्डोस्कीले टिमको अग्रता २-० को बनाए ।
खेलको ४५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ३-० ले अघि रह्यो ।
५१ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा रितुसले एक गोल फर्काएपनि घरेलु टिम ४-१ ले पराजित भयो ।
यस्तै खेलको ७६ औं मिनेटमा कोर्टिन टोलिसोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिएको थियो ।
अर्मिनियाविरुद्ध सहज जितसँगै बायर्न तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
बायर्नले ४ खेलमा ९ अंक जोडेको छ । अर्मिनिया ४ खेलमा ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।