एजेन्सी । चेल्सी तथा आइभरी कोस्टका पूर्व फरवार्ड डिडियर ड्रोग्बाले 'यूईएफए प्रेसिडेन्ट्स अवार्ड' प्राप्त गरेका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२० को यूईएफए प्रेसिडेन्ट्स अवार्ड ड्रोग्बालाई दिने निर्णय गरेको हो ।
ड्रोग्बालाई बिहीबार च्याम्पियन्स लिग ड्र सार्वजनिक गरिने कार्यक्रममा अवार्ड प्रदान गरिनेछ ।
४२ वर्षीय फरवार्ड ड्रोग्बालाई आइभरी कोस्टका महान फुटबलर मानिन्छ । उनले सन् २००२ देखि २०१४ सम्म आइभरी कोस्टका लागि खेलेका छन् ।
ड्रोग्बाले आफ्नो राष्ट्रका लागि १ सय ५ खेलमा ६५ गोल गरेका छन् ।
ड्रोग्बाले प्रिमियर लिग क्लब चेल्सीका लागि ३ सय ८१ खेल खेलेका थिए । जसमा उनले १ सय ६४ गोल गरेका थिए ।
चेल्सीका लागि उनले चार प्रिमियर लिग उपाधि जित्दा एक च्याम्पियन्स लिग जितेका थिए ।
यस अवार्ड सन् १९९८ बाट प्रदान गर्न थालिएको हो । गत वर्ष इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामले प्राप्त गरेका थिए ।
यस्तै सर बोब्बि चार्लटन, जोहन क्रुफ, फ्रान्सिस्को टोट्टी लागयतका लिजेण्ड खेलाडीले यस अवार्ड प्राप्त गरिसकेका छन् ।