एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (सोमबार) उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटीले उल्भरह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले सिजनको पहिलो खेलमा उल्भ्ससँग खेल्न लागेको हो । सिटी र उल्भ्सबिचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
उल्भ्सको मैदानमा सिटी सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । किनकि गत सिजन उपाधि जित्नबाट चुकेको सिटी यस सिजन भने उपाधि उचाल्ने योजनामा छ ।
तर, सिटीलाई खेलाडीको चोटले केहि सताउने छ । स्ट्राइकर सर्जियो अग्युरो चोटका कारण टिम बाहिर छन् । डिफेन्डर एम्रिक लापोर्टे पनि टिम बाहिर छन् ।
कोरोना देखिएपछि आईसोलेसनमा रहेका रियाद महरेज भने टिममा फर्केका छन् । यस्तै नाथन एके र फेरान टोरेसले डेब्यु गर्ने सम्भावना रहेको छ ।
बलियो टिम उल्भ्सविरुद्ध पेप ग्वार्डीवालाको सिटीलाई जित निकाल्न सहज भने छैन । उल्भ्सले पहिलो खेलमै सिटीलाई चुनौती दिनेछ ।
सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको उल्भ्स पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा उल्भ्सले सेफिल्डलाई २-० ले हराएको थियो । नुनो सान्तोको उल्भ्स उक्त लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
उल्भ्सलाई खेलाडीको चोटले सताउने छैन । उसका फरवार्डहरु निकै लयमा छन् । तर, उल्भ्सले फरवार्ड डिएगो जोटालाई भने लिभरपुललाई बेचेको छ ।
प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ ।
सिजनको पहिलो खेलमा एस्टन सेफिल्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
पहिलो खेलमा पराजित सेफिल्ड भने पहिलो जितको खोजीमा हुनेछ ।