एजेन्सी । ला लिगाको पहिलो खेलमा रियल मड्रिडले गोल रहित बराबरी खेलेको छ ।
आईतबार राति साविक विजेता रियल मड्रिडले रियल सोसिडाडसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
जिनेदिन जिदानको टिमले युरोपका अन्य च्याम्पियन भन्दा एक हप्ता ढिलामात्र सिजन सुरु गरेको थियो ।
रियलले खेलमा केही निश्चित गोलको अवसर सिर्जना गरेको थियो । तर करिम बेन्जिमाको कमजोर प्रहारलाई गोलकिपर एलेक्स रेमिरोले विफल बनाए ।
म्यान्चेष्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भा सोसिडाडबाट डेब्यु गरेका थिए । तर उनले पनि गोल गर्न सकेनन् ।
घरेलु टोली सोसिडाडले समेत गोलका केही अवसर सिर्जना गरेको थियो । उसका अलेक्जेन्डर इसाकको कमजोर प्रहार थिबाउट कर्टोइसले बचाएका थिए भने एन्डर बेरेनटेक्सियाको भली प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
रियल मड्रिडले चोटका कारण इडेन हजार्डको साथ पाएन । अर्का विङ्गर ग्यारेथ वेल यसै हप्ता पुन टोटेनहम फर्किएका छन् ।
ब्राजिली युवा स्टार भिनिसियस जुनियर र रोड्रिगोले खेलमा प्रभाव राख्न असफल रहे ।
गत सिजनको च्याम्पियन रियलले १ अंक सहित लिगको सुरुवात गरेको छ । सोसिडाडको नयाँ सिजनमा यो दोस्रो बराबरी हो ।