एजेन्सी । साडियो माने चम्किएको खेलमा लिभरपुलले चेल्सीलाई हराएको छ ।
एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।
५० औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो । राेबर्टाे फिर्मिन्हाेकाे क्रसमा मानेले हेडमार्फत गाेल गरेका थिए ।
त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाउने काम गरे ।
दोस्रो हाफको इन्जुरी समयमा लण्डन क्लब चेल्सीले पेनाल्टीको अवसर गुमायो । जोर्गिन्होको प्रहार लिभरपुलका गाेलकिपर एलिसनले बचाए ।
चेल्सीमाथि शानदार जित सहित लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।
समर ट्रान्सफरमा युरोपेली क्लब फुटबलमा सबैभन्दा धेरै खर्च गरेको चेल्सीमाथि लिभरपुलले प्रभाव देखिने जित निकाल्याे ।
नयाँ सिजनका लागि खेलाडी खरिदमा ठुलो रकम खर्च गरेको चेल्सीले लिभरपुललाई गतिलो चुनौती दिन सकेन ।
मुख्य खेलाडीको रुपमा अनुबन्धन गरेका टिमो वार्नर र काइ हाभर्ट्जले प्रिमियर लिगको दोस्रो खेलमा समेत गोल गर्न सकेनन् ।
चोट र फिटनेसका कारण चेल्सीले नयाँ तीन खेलाडीलाई लिभरपुलबिरुद्ध उतार्न पाएन । हाकिम जियाच चोट ग्रस्त छन् भने डिफेन्डर थियागो सिल्भा र चिलवेक फिट हुने तयारी गर्दैछन् ।
क्रिस्टियन पुलिसिक समेत चोटका कारण प्रिमियर लिगका सुरुवाती दुई खेल गुमाईसकेका छन् ।
जित सहित लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । चेल्सीको २ खेलबाट ३ अंक भएको छ ।