एजेन्सी । च्याम्पियनसिप क्लब एएफसी बोर्नमाउथ काराबाओ कपको दोस्रो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले पराजित गर्दै बोर्नमाउथ दोस्रो चरणमा पुगेको हो ।
रोमान्चक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिए पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । तर, पेनाल्टी सुटआउट समेत रोमान्चक बनेको थियो ।
दुबै टिमले कुल २४ पेनाल्टी प्रहार गरेका थिए । सुरुवाती १० प्रहारमा दुबै टोलीले लगातार गोल गरेका थिए ।
तर, ११ औं पटकको प्रहारमा दुबै टिमका गोलकिपर चुकेका थिए । त्यसपछिको पेनाल्टीमा बोर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिच गोल गर्न चुकेका थिए ।
अब बोर्नमाउथले दोस्रो चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
काराबाओ कप अन्तर्गत नै न्युकासल युनाइटेडले ब्लाकबर्न रोभर्सलाई १-० ले हराएर दोस्रो चरणमा पुगेको छ ।
वेस्ट ह्यामले चार्ल्टन एथ्लेटिक्सलाई ३-० र एस्टन भिल्लाले बुर्टोनलाई ३-१ ले हराएर दोस्रो चरणको यात्रा तय गरेका छन् ।