एजेन्सी । प्रिमियर लिग क्लब टोटनहमले फरवार्ड ग्यारेथ बेललाई पुन अनुबन्धनको प्रयास थालेको छ ।
रियल मड्रिडका फरवार्ड बेललाई प्रिमियर लिग फर्काउन टोटेनहमले छलफल सुरु गरेको हो ।
खेलाडी सुरुवा बजारमा नजर लगाइरहेको टोटेनहम रियल मड्रिडका सर्जियो रेगुइलनलाई अनुबन्धन गर्ने प्रक्रियाको निकै नजिक छ ।
३१ बर्षका बेलले सन् २०१३ मा विश्व कीर्तिमानी मुल्यमा टोटेनहम छाडेर रियल मड्रिडमा गएका थिए । उनले रियल मड्रिडमा सय भन्दा बढी गोल गर्नुका साथै चार च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
‘ग्यारेथले अझै टोटेनहमलाई प्रेम गर्छन् ।’ एजेन्ट जोनाथन बर्नेटले वेल्स फरवार्डको बिषयमा भनेका छन्, ‘यो त्यो ठाउँ हो । जहाँ उनी बन्न चाहन्छन् ।’
बेल र रेगुइलन प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसंग समेत जोडिएका छन् ।
२३ बर्षका रेगुइलन युवा एकेडेमीबाट आएका खेलाडी हुन् । उनले सन् २०१८ को अक्टोबरमा सिनियर टिमबाट डेब्यु गरेका थिए ।
युनाइटेडले बेल अनुबन्धनका बिषयमा रियल मड्रिडसंग समेत छलफल गरिरहेको छ । टोटेनहमले समेत बेल अनुबन्धनको दौडमा देखिएको छ । उसले वेल्सका फरवार्ड जोसे मौरिन्होको टिममा समावेश हुने अपेक्षा गरेको छ ।
बेलको तलब सबैभन्दा ठुलो समस्याको रुपमा रहेको छ । रियलसंग उनको सम्झौता अझै २ बर्ष बाँकी छ । उनले रियलबाट हप्ताको ६ लाख पाउण्ड बुझ्दै आएका छन् ।
युनाइटेड बोरुसिया डर्टमण्डका जाडोन साञ्चो अनुबन्धनमा समेत प्रयास गरिरहेको छ ।
टोटेनहमले १७ बर्षको उमेरमा बेललाई साउथह्याम्टनबाट क्लबमा जोडेको थियो । उनलाई विश्वको सर्वोकृष्ट खेलाडी बनाउन क्लबले ठुलो योगदान गरेको थियो ।
सुरुवाती सिजनमा बेल रियलमा निकै सफल रहे । उनले सन् २०१४ र १८ को च्याम्पियन्स लिगको फाइनलमा गोलनै गरे । यस्तै सन् २०१४ को कोपा डेल रे को फाइनलमा समेत उनले गोल गरेका थिए ।
तर चोटका कारण उनको करियर बिस्तारै ओरालो लाग्न थाल्यो । प्रशिक्षक जिनेदिन जिदानसंगको सम्बन्ध र उतार चढावमा देखिएको लयले उनलाई रियलमा पछिल्लो सिजन असफल बनाएको छ ।
सन् २०१९–२० को सिजन पुन सूरु भएपछि उनले मात्र १ खेल खेल्न पाएका छन् ।