एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोनाले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
क्याम्प नाउमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनालाई सहज जित दिलाउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले गाेल गरे ।
घरेलु टोलीले सुरुवाती अग्रता भने क्लेमेन्ट लेन्गलेटको गोलमा खेलको १० औं मिनेटमा लिएको थियो ।
ईभान राकिटिकको कर्नरमा लेन्गलेटले हेडमार्फत बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
मेस्सीले २३ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । डिबक्स भित्र तीन डिफेन्डरलाई छलाउँदै थप दुई डिफेन्डरको बिचबाट उनले प्रहार गरेको बलले जाली चुमेको थियो ।
उनले च्याम्पियन्स लिगका १ सय ४२ खेलमा १ सय १५ गोल पुरा गरेका छन् ।
पहिलो हाफको ईन्जुरी समयमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–१ को अवस्थामा पुर्याएका थिए । उनले समेत च्याम्पियन्स लिगमा २५ गोल पुरा गरे ।
पहिलो हाफको खेल सकिन अन्तिम मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए । पहिलो पटक क्वार्टरफाईनल पुग्ने नापोलीको लक्ष्य यस सिजन समेत पुरा हुन पाएन ।
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।