एजेन्सी । इटालियन लिजेण्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लो युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
युभेन्ट्सले पूर्व मिडफिल्डर पिर्लोलाई शनिबार टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
मुख्य प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेर युभेन्ट्सले पिर्लोलाई नियुक्त गरेको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि युभेन्ट्सले सारीलाई बर्खास्त गरेको थियो ।
अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा शुक्रबार राति फ्रेन्च क्लब लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्ट्स बाहिरिएको थियो ।
पहिलो लेगमा १-० को जित निकालेको लियोन समग्रमा २-२ को बराबरी भएपछि 'अवे गोल' को आधारमा अन्तिम आठमा पुगेको थियो ।
युभेन्ट्सले गत साता मात्र पिर्लोलाई यू-२३ टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
४१ वर्षीय पिर्लो पाँच वर्षपछि प्रशिक्षकको रुपमा युभेन्ट्स फर्किएका हुन् । उनले सन् २०१५ मा युभेन्ट्स छाडेका थिए ।
सन् २०११ मा युभेन्ट्स आएका पिर्लोले २०१५ सम्म १ सय १९ खेलमा १६ गोल गरेका थिए ।