एजेन्सी । फ्रान्समा दर्शक सहितको फुटबल फर्किएको छ । आईतबार राति करिब ५ हजार दर्शकलाई साक्षी राखेर महारथी क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मैत्रीपूर्ण खेल खेल्यो ।
ली हाभ्रेबिरुद्धका खेलमा पीएसजी ९–० ले विजयी बन्यो । २५ हजार दर्शक क्षमताको रंगशालामा पीएसजीका लागि नेयमार र केलियन एम्बाप्पेले गोल गरे ।
फ्रान्स सरकारले आन्तरिक रुपमा सेप्टेम्बरसम्म फुटबल गतिविधि गर्न रोक लगाएको छ । तर च्याम्पियन्स लिगको तयारीमा रहेको पीएसजीको खेल हेर्न दर्शकलाई रंगशालामा अनुमती प्रदान गरिएको थियो ।

कोरोनाले घरेलु फुटबल अबरुद्ध बनेपछि पहिलो पटक स्टेडियममा दर्शक सहितको फुटबल भएको हो । प्रर्दशनी खेलमा दोस्रो डिभिजनको क्लबले पीएसजीसंग खेलेको थियो ।
कोरोनाले प्रभावले फ्रान्सले अप्रिलमै शीर्ष डिभिजनको लिग रद्ध गरेको थियो । अनि पीएसजीलाई उपाधि दिएको थियो ।

पीएसजीले च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलका लागि तयारी सुरु गरेको छ । पीएसजीले अगष्टमा सिरि ए क्लब एटलान्टालाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।
आईतबारको खेलमा मौरो इकार्डी, नेयमार र एम्बाप्पेले राम्रो प्रभाव जमाए ।
कोरोनाले फ्रान्समा ३० हजार मानिसको ज्यान गएको छ । प्रर्दशनी खेलको दौरान पीएसजीका खेलाडीले स्वास्थ्य सेवामा खटिने चिकित्सकलाई सम्मान ब्यक्त गरेका थिए ।