एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले चार वर्षपछि जर्मनी फर्कने योजना भएको बताएका छन् ।
जर्मन प्रशिक्षक क्लोपले लिभरपुलमा आफु चार वर्ष रहने त्यसपछि स्वदेश फर्कने बताएका हुन् ।
५३ वर्षीय क्लोप लिभरपुलमा २०२४ सम्म रहने छन् । त्यसपछि भने क्लबसँग उनले सम्झौता थप नगर्ने भएका हुन् ।
'चार वर्ष लिभरपुलमा र एक वर्ष केहि गर्ने छैन । तर, पाँच वर्षमा विश्व धेरै फरक हुनेछ,' क्लोपले एक अन्तर्वार्तामा भने ।
क्लोप सन् २०१५ मा मुख्य प्रशिक्षकको रुपमा लिभरपुल आएका थिए । क्लोपले यस सिजन क्लबलाई प्रिमियर लिगको उपाधि दिलाए ।
लिभरपुलले ३० वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जितेको हो ।
गत सिजन क्लोपले क्लबलाई च्याम्पियन्स लिग जिताएका थिए ।
यस्तै प्रशिक्षक क्लोपले आफु पूर्व क्लब मैन्ज फर्कन चाहेको समेत बताए । क्लोपले मैन्जबाटै प्रशिक्षक करियरको सुरुवात गरेका थिए ।