एजेन्सी । म्यानुअल पेलेग्रिनी ला लिगा क्लब रियल बेटिसको प्रशिक्षकमा नियुक्त भएका छन् ।
वेस्ट ह्याम र म्यान्चेष्टर सिटीका पूर्व प्रशिक्षक पेलेग्रिनीलाई रियल बेटिसले अर्को सिजनका लागि क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
पेलेग्रिनीले यसअघि स्पेनिस क्लब रियल मड्रिड, भिया रियल र मालागा जस्ता क्लब समेत सम्हालेका छन् । गत डिसेम्बरमा लेस्टर सिटीसंग पराजित भएसंगै वेस्ट ह्यामले उनलाई प्रशिक्षकको पदबाट बर्खास्त गरेको थियो ।
६६ बर्षका चिलीका प्रशिक्षकले बेटिस क्लबलाई सन् २०२३ को जुनसम्म हेर्नेछन् ।
उनी प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीमा रहदाँ सन् २०१३–१४ को सिजनको लिग उपाधि जितेका थिए भने दुई पटक लिग कपको उपाधि उचालेका थिए ।
‘रियल बेटिसले तीन बर्षका लागि पहिलो टिमका प्रर्दशनलाई बढाउन एक उच्च स्तरका र ठुला अन्तराष्ट्रिय प्रतिष्ठा बोकेका प्रशिक्षकलाई नियुक्त गरेको छ ।’ क्लबद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
उनले बेटिसका प्रशिक्षक रुबीलाई क्लबबाट प्रतिस्थापन गर्नेछन् । रुबी गत जुनमा एथ्लेटिको बिल्बाओसंग पराजित भएसंगै बर्खास्तीमा परेका थिए ।