काठमाडौं । नेपाली सेनाको मुख्यालय भद्रकालीमा अवस्थित फुटबल मैदान अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रयोग गर्ने भएको छ ।
एन्फाले उक्त मैदानलाई ट्रेनिङ मैदानको रुपमा प्रयोग गर्ने भएको हो । नेपाली सेनाले शुक्रबार एन्फालाई मैदान हस्तान्तरण गर्दैछ ।
सेनाले हस्तान्तरण गरेपछि मैदान एन्फाको मातहतमा हुनेछ ।
एन्फाले मैदानमा आवश्यक चेन्जिङ रुम र प्लेयर बक्स निर्माण गरिसकेको छ । यस्तै मैदान हेरचारको काम एन्फाले गर्नेछ ।
यस्तै आवश्यक परेको खण्डमा सेनाको त्रिभुवन आर्मी क्लबले समेत मैदान प्रयोग गर्न पाउने छन् ।
यस मैदानलाई एन्फाले फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत घरेलु भूमिमा हुने खेलका लागि आउने टोलीको प्रशिक्षण मैदानको रुपमा रोजेको हो ।
विश्वकप छनोटको दोस्रो चरणको खेल खेलिरहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ ।
नेपालले आगामी असोजमा अष्ट्रेलिया ,जोर्डन र चाईनिज ताईपेसँग घरेलु मैदानमा खेल्दैछ । नेपाल भ्रमण गर्दा तीनै विदेशी टोलीले यस मैदानमा प्रशिक्षण गर्ने छन् ।
छनोटको समूह 'बी' मा रहेको नेपालले अवे खेल खेलिसकेको छ ।
छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।
अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।