एजेन्सी । लेष्टर सिटीका प्रशिक्षक ब्रेण्डन रोडर्सले आफुलाई कोरोना भाईरसको संक्रमण भएको खुलासा गरेका छन् ।
बीबीसी रेडियोसँगको कुराकानी गर्दै रोडर्सले आफु र श्रीमतीलाई गत मार्चमा कोरोनाको संक्रमण देखिएको बताएका हुन् ।
तर, रोडर्सले अहिले आफु कोरोनाबाट मुक्त भईसकेको समेत बताए ।
४७ वर्षे प्रशिक्षकले कोरोनाको संक्रमण हुँदा आफुलाई तान्जेनियाको हिमाल किलिमान्जारो चढेको भन्दा कठिन भएको बताए ।
'म कठिन तरिकाले हिड्न सक्थे । यसले मलाई किलिमान्जारो पर्वतारोहणको सम्झना गरायो,' बीबीसीसँग उनले भने , 'तीन हप्तासम्म मलाई कुनै गन्ध र स्वाद थाहा भएन । म सँग कुनै शक्ति थिएन । एक हप्तापछि मेरी श्रीमतीको अवस्था उस्तै भयो । हाम्रो जाँच भयो र हामी दुबैमा भाईरस भएको पत्ता लाग्यो ।'
प्रशिक्षक रोडर्सले एक च्यारिटीका लागि सन् २०११ मा किलिमान्जारोको पर्वतारोहण गरेका थिए ।
रोडर्सले कोरोनाको संक्रमण देखिने दोस्रो प्रिमियर लिगका प्रशिक्षक हुन् । यस अघि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना देखिएको थियो ।