एजेन्सी । युभेन्ट्सका मिडफिल्डर सामी खेडिराले आफु क्लबमा निकै खुसी भएको बताएका छन् ।
इन्स्टाग्रामको लाईभमा कुरा गर्दै खेडिराले आफु युभेन्ट्समा खुसी भएको बताएका हुन् ।
जर्मन मिडफिल्डर खेडिराले युभेन्ट्स बलियो टिम रहेको र आफु अझै उपाधिको भोको भएको समेत बताए ।
'मैले धेरै बलियो टिम भेटेको छु । थुप्रै उपाधिका लागि म अझै भोको छु,' खेडिराले भने, 'म युभेन्ट्स र टुरीनमा निकै खुसी छु ।'
३३ वर्षीय खेडिरा सन् २०१५ मा रियल मड्रिडबाट युभेन्ट्स गएका थिए ।
'मेरो सम्झौता २०२१ मा सकिदैछ । मैले इटाली र टिममा धेरै राम्रो महसुस गरेको छु,' उनले थपे ।
गत सिजन दुई पटक घुँडाको शल्यक्रिया गरेका खेडिराले केहि महिना मैदान उत्रन पाएका थिएनन् । यस्तै गत सिजनमा उनलाई मुटुको समस्या समेत देखिएको थियो ।
गत डिसेम्बरमा बायाँ घुँडाको शल्यक्रिया गरेपछि खेडिरा मार्च ८ मा इन्टर मिलानविरुद्ध मैदान उत्रेका थिए । त्यसपछि कोरोनाको कारण लिग स्थगित गरिएको छ ।
यस सिजन युभेन्ट्स लिगको शीर्ष स्थानमा रहेको छ । युभेन्ट्सले लाजियोविरुद्ध एक अंकको अग्रता बनाएको छ ।
इटालियन सिरी ए जुन २० बाट सुचारु गर्ने तयारी गरिएको छ ।